मुम्बई । साउनको महिनालाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक महिनाको रूपमा लिने गर्छन् । सोही कारण साउन महिनालाई लक्षित गरेर रिलिज गरिएको बलिउडको धार्मिक चलचित्र ‘महावतार नरसिंह’ले बक्स अफिसमा सोचेको भन्दा निकै राम्रो व्यापार गरेको छ ।
यो चलचित्रले रिलिज भएको दिन सामान्य व्यापार गरेको थियो । रिलिज भएको दोस्रो दिनबाट स्वदेशी बक्स अफिसमा दर्शकको मन जित्न थालेको यो चलचित्रले रिलिज भएको ११ दिनमा स्वदेशी बजारमा १०० करोडको व्यापार गरेको छ ।
भिएएफएक्स (थ्रिडी एनिमेसन) प्रणालीबाट चरित्र सृजना गरेर बनाइएको चलचित्र ‘महावतार नरसिंह’ हलिउडको भिएफएक्स चलचित्र भन्दा कम छैन । हलिउडका भिएफएक्स (थ्रिडी कार्टुन) चलचित्र हेरेर रमाउँदै आएका बलिउडका दर्शकका लागि यति बेला चलचित्र ‘महावतार नरसिंह’ एउटा फरक स्वाद बनेको छ । धर्ममा आस्था राख्ने दर्शकहरू त चलचित्र घरमा पुगेका छन् नै । थ्रिडी चलचित्र मन पराउने युवा पुस्ता पनि यति बेला यो चलचित्र हेर्न हलमा आइरो लागेका छन् ।
यो चलचित्रले पहिलो दिन चलचित्र घरमा १.७५ करोडको व्यापार गरेको थियो । दोस्रो दिन यसले ४.६ करोडको व्यापार गरेपछि निर्माताहरू चलचित्र प्रति आशावादी भएका थिए । ‘महावतार नरसिंह’ले तेस्रो दिन ९.५ करोडको व्यापार गर्दै बक्स अफिसमा आफ्नो प्रभाव बढाउन सुरु गरेको थियो । २५ जुलाईमा रिलिज भएको यो चलचित्रले यसरी बिस्तारै बक्स अफिसमा आफ्नो छाप छोड्दै गएको हो । यो चलचित्रले रिलिज भएको नवौँ दिन शनिवार भारतमा १५.४ करोडको व्यापार गरेको थियो ।
‘महावतार नरसिंह’ले रिलिज भएको दोस्रो आइतबार बक्स अफिसमा ठुलो उछाल ल्यायो । यसले आइतबार १० औँ दिनमा २३.०१ करोडको शानदार व्यापार गरेको थियो । प्रदर्शन भएको ११ औँ दिन सोमबार समेत यो चलचित्रले ७.३५ करोड रुपैयाँको व्यापार गरेको छ । यसरी ११ औँ दिनमा यो चलचित्रको व्यापार १०० करोडबाट उकालो लागेको छ ।
भारतमा ‘सैयारा’ चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको बेला भिएफएक्स प्रणालीमा निर्माण भएको एउटा धार्मिक कथामा आधारित चलचित्र ‘महावतार नरसिंह’ले १०० करोडको व्यापार गर्नुलाई समीक्षकहरूले अद्भुत व्यापार भनेका छन् । कुनै पनि स्टार कास्ट नभएको एउटा एनिमेसन चलचित्रले स्वदेशी बक्स अफिसमा १०० करोड व्यापार गरेपछि अहिले यसका निर्माण टिमले अरू ६ वटा सृंखला समेत निर्माणको घोषणा गरेका छन् ।
यो चलचित्रलाई सुरुका दिनमा कुनै पनि ओटिटी प्लेटफर्मले किन्नको लागि पत्याएका थिएनन् । अहिले यही चलचित्र बक्स अफिसमा सुपर हिट भएपछि आधा दर्जन ओटिटी प्लेटफर्महरुले यो चलचित्र रिलिजको लागि अधिकार किन्न मोलमोलाइ गरिरहेका छन् ।
इन्डिया टाइम्सको रिपोर्ट अनुसार ‘महावतार नरसिंह’ हिन्दी संस्करण मात्र भए पनि जियो हटस्टारले किनेर ओटिटी प्लेटफर्ममा रिलिज गर्नको लागि निर्माण पक्षसँग प्रस्ताव समेत राखेको छ । अंग्रेजी संस्करणको लागि प्राइम भिडियो देखि नेटफ्लिक्स सम्मले यस अघि नै यो चलचित्र किन्नको लागि आह्वान गरेका थिए ।
भारतीय एनिमेसन चलचित्रले बजार नपाएको बेला यो चलचित्रको निर्माण कम्पनी होम्बाले फिल्म्स र क्लेम प्रोडक्सनले भारतीय एनिमेसन चलचित्र पनि उत्कृष्ट हुन्छ भनेर अहिले प्रमाणित गरेका छन् ।
होम्बाले फिल्म्स र क्लेम प्रोडक्सनले यस भव्य ‘एनिमेटेड फ्रान्चाइजी’को आधिकारिक लाइन अप जारी राखेका छन् । अबको १२ वर्षमा भगवान् विष्णुका दश दिव्य अवतारहरूलाई एनिमेसन चलचित्रमार्फत बजारमा ल्याउने घोषणा पनि उनीहरूले गरेका छन् ।
‘महावतार नरसिंह’बाट सुरु भएको यो चलचित्रको आगामी सृंखलाको घोषणा निर्माण पक्षले गरिसकेको छ । अबको क्रममा महावतार परशुराम (२०२७), महावतार रघुनन्दन (२०२९), महावतार द्वारकाधीश (२०३१), महावतार गोकुलानन्द (२०३३), महावतार कल्की भाग १ (२०३५) र महावतार कल्की भाग २ (२०३७)मा उनीहरूले रिलिज गर्ने छन् । यसरी यी दुई कम्पनीले अबको १२ वर्षसम्म हरेक दुई वर्षमा भारतीय पौराणिक कथालाई नयाँ प्रविधि र भव्यताका साथ दर्शकहरूलाई प्रस्तुत गर्नेछन् । पहिलो चलचित्र ‘महावतार नरसिंह’ बक्स अफिसमा सुपर हिट भएसँगै दोस्रो चलचित्र ‘महावतार परशुराम’को निर्माण सुरु गरिसकेको पनि निर्माण पक्षले जनाएको छ ।






