धनगढी । कैलालीको कैलारी गाउँपालिकाका कृषक सनोज चौधरी आजभोलि माछापालन व्यवसायमा जमेका छन् । १० लाख लगानीमा २०७८ सालमा दश कठ्ठा जमिनबाट उनले माछापालन व्यवसाय सुरु गरेका थिए ।
अहिले उनी सो व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन् । सिजनमा १३ लाख ५० हजारको माछा बिक्री गर्ने गरेको उनले बताए । ’व्यवसाय सुरु गरेको ५ लट जति भयोे आम्दानी राम्रो भइरहेको छ’ उनले भने ’एक लटमा माछाको चारोमा ९ लाख रुपैयाँ खर्च हुन्छ । सबै खर्च कटाएर २ लाख ५० हजार बचत हुने गर्छ ।’
भारतबाट मरेको माछा नेपाल आउन थालेपछि आफ्नै देशमा ताजा र स्वच्छ माछा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरेको उनले बताए । पंगशेष जातको माछा ग्राहकले बढी रुचाउने गरेको र यो जातको भुरा नेपालमा नपाइने भएकाले भारतबाट ल्याउनु परेको उनले बताए ।
कमनकार लगायतका भुरा कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रबाट ल्याउने गरेको उनले बताए । एक सिजनमा पूरै घाटा भयो । करिब ४० क्विन्टल माछा म¥यो । त्यतिखेर व्यवसाय गरौँ की नगरौँ जस्तो भएको थियो’, उनले भने, ‘बिचलित हुनु हुँदैन । किन छोड्ने भन्ने लाग्यो । अरुले पनि नछोड्न सुझाव दिए । त्यसपछि व्यवसाय छोेडिँन अहिले राम्रो भइरहेको छ ।’
उनले भने ‘काम गर्दा समस्या हुन्छ । तर बिचलित हुनु हुँदैन रहेछ । मेहनतको प्रतिफल पाइने रहेछ । घाटा लाग्यो भन्दैमा मैले यो व्यवसाय छोडेको भए असुल त परको कुरा हो लगानी सबै डुबेर जाने थियो ।’
माछा पोखरी निर्माणमा एक लाख अनुदान भेटेरिनरीबाट पाएको उनले बताए । गाँउपालिकाबाट मोटर,जाल, बोरिंङका लागि ५० हजारको अनुदान पाएको उनको भनाइ छ । गत वर्ष करिब १३ लाख ५० हजारको माछा बिक्री गरेको उनले बताए । खुला सीमा नाकाका कारण भारतीय सीमाबाट नेपालमा माछा आयात हुनुले यहाँका व्यवसायी मारमा पर्ने गरेको उनले बताए ।
‘उताबाट सस्तोमा आउँछ, नेपालका व्यवसायीले मूल्य पाउँदैनन् । भारतबाट आएको माछाको मूल्य प्रतिकिलोको थोकमा २२० हुन्छ भने हामीले उत्पादन गरेको माछा प्रतिकिलोको थोकमा २५० हुन्छ ।’ नेपालमा उत्पादन माछाभन्दा भारतबाट आएका माछाको रेट सस्तो हुँदा बिचौलियाले कृषकलाई समस्यामा पारेको उनले बताए ।
उनीहरु नेपालमा माछा उत्पादन नहुने सिजनमा महंगोमा बिक्री गर्ने गरेको उनले बताए । चोरीपैठारीबाट आउने माछालाई नेपाल सरकारले कडाई गर्नुपर्ने उनको भनाइ छ । आफूले उत्पादन गरेबो माछा धनगढी, टीकापुर, बर्दिया, राजापुर स्थानीय बजारमा खपत हुने गरेको उनले बताए ।
यो सिजनमा १३ हजार भुरा पोखरीमा हालिएको र ६० क्विन्टल उत्पादन हुने अनुमान रहेको उनको भनाइ छ । उनले यसबाहेक अन्य काम नभएको बताउँदै उनले साढे ३ बिगाहमा धान खेती लगाएको बताए । १० जनाको परिवारको घरखर्च बालबालिकाको पढाइलेखाइ खर्च माछा व्यवसायबाट नै चल्ने गरेको उनले बताए ।






