भोगेन्द्र लामिछाने एक दशक बढी समयदेखि किशोरीहरूको शिक्षाका लागि काम गर्दै आएका व्यक्ति हुन् । हालसम्म ५ हजारभन्दा बढी युवतीले आत्मविश्वास, डिजिटल सीप र नेतृत्व क्षमता विकास गरेका छन् । शिक्षाले समुदायलाई कसरी परिवर्तन गरिरहेको छ भन्ने’bout उनीसँग गरिएको कुराकानीको संक्षेपः
किशोरीहरूको शिक्षा र डिजिटल सशक्तीकरणको काम गर्न तपाईंलाई केले झक्झक्यायो ? यसका पछाडि कुनै प्रेरणादायक पात्र वा व्यक्तिगत अनुभव छन् कि ?
म जुन गाउँमा हुर्किएँ त्यो अति दुर्गम थियो । त्यहाँ लैंगिक विभेद सामान्य मानिन्थ्यो । मेरी आमा र हजुरआमा निरक्षर हुनुहुन्थ्यो । उहाँहरू घरधन्दा र खेतीपातीमा सीमित हुनुहुन्थ्यो । घरका ठूला र महत्वपूर्ण निर्णय गर्ने अधिकार बुवा–हजुरबुवामा थियो । धेरैजसो युवतीलाई जवान हुनेबित्तिकै बिहे गराइन्थ्यो । विद्यालयजस्तो समान व्यवहार गर्ने ठाउँमा समेत शिक्षकहरूले केटीलाई भन्दा केटाहरूलाई महत्व दिन्थे । केटाहरूलाई केटीभन्दा बढी सक्षम मानेर व्यवहार गर्थे ।
यस्ता अनुभवले ममा गहिरो असर पा-यो । एसएलसी सकेपछि मैले युवतीहरूको शिक्षामा लाग्ने अठोट गरें । लैंगिक समानताका लागि पुरुषहरूले सक्रिय भूमिका खेल्नुपर्छ भन्ने मेरो गहिरो विश्वास छ । यस विश्वासले आज पनि मलाई प्रेरणा दिइरहेको छ ।
किशोरीहरूको शिक्षा, विशेषगरी स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) र डिजिटल सीपमा लगानी किन जरुरी छ ?
समाजले गर्न सक्ने यो सबैभन्दा बुद्धिमानीपूर्ण लगानी हो । शिक्षित युवतीले बिहे चाँडै हुनबाट रोक्छन्, गर्नैपर्ने अवस्थामा अलि पछि धकेल्छन् । शिक्षित युवतीले आफैं कमाउन थाल्छन् । यससँगै परिवारको स्वास्थ्य तथा शिक्षामा सकारात्मक निर्णय लिन सक्छन् ।
डिजिटल र खासगरी ‘स्टिम’ सीपहरूले रोजगारी, उद्यमशीलता र विश्वव्यापी अवसरको ढोका खोल्छन् । सीमान्तकृत समुदायबाट आएका युवतीहरूको हकमा त यो रोजगारीमा मात्र सीमित रहँदैन, यसले गरिबीको चक्रसमेत तोड्छ र आत्मनिर्भर बनाउँछ । शिक्षामा समान पहुँच हुनु नेपालको भविष्यका सन्दर्भमा समानता र बुद्धिमानी लगानी हो ।

‘एज’ कार्यक्रमको वास्तविक प्रभाव दर्साउने कुनै कथा छ ?
सन् २०१८ मा मैले एउटी युवती भेटें । उनको कथाले मलाई आज पनि प्रेरणा दिन्छ । उनले आफ्नो पीयर ग्रुप लिडर (पीजीएल)लाई आदर्श मानेकी थिइन् । त्यसैले उनले समयअघि नै विवाह गर्न अस्वीकार गरिन् । उनी अंग्रेजी र प्रविधिमा पोख्त थिइन् । उनी पनि पीजीएल बनिन् । यसले उनलाई यति आत्मविश्वास भरिदियो कि उनले चाँडै बिहे गर्न अस्वीकार गरिन् ।
यसको केही वर्षपछि मैले फेरि उनलाई भेटें । उनले कानुन विषयमा स्नातकोत्तर गरिरहेकी रहिछन् । एक प्रतिष्ठित कानुनी संस्थामा काम पनि गर्दै रहिछन् । उनले भनिन्, ‘एज नभएको भए म सायद अहिले गृहिणी भएर घर सम्हालिरहेकी हुन्थें होला, अहिले चाहिँ म न्यायका लागि आवाज उठाइरहेकी छु ।’ यो हो सुरक्षित ठाउँ, गतिलो सल्लाह र शिक्षाको शक्ति ।
एजजस्ता कार्यक्रमले विद्यालयबाहिर युवतीहरूलाई कसरी सशक्त बनाउँछन् ?
मैले फिल्ड भ्रमणहरूमा एज (ईडीजीई)मा सहभागी भएका धेरै युवतीलाई भेट्ने मौका पाएको छु । सबैभन्दा ठूलो परिवर्तन त मैले उनीहरूमा आत्मविश्वास र आत्मसम्मान चुलिएको देखें । एजका कारण नै उनीहरूले पहिलोपटक आफूलाई देखिएको, सुनिएको र महत्व दिइएको महसुस गरेका थिए । पहिले कक्षाको एउटा कुनामा चुपचाप बस्ने युवतीहरू अहिले सामुदायिक क्लबहरू चलाइरहेका छन् । सार्वजनिक कार्यक्रममा उनीहरू बोलिरहेका छन् । आफ्नो जीवनको निर्णय आफैं लिइरहेका छन् । त्यो पनि पढाइ जारी राख्दै । कम उमेरमा गरिने दबाबको बिहे टार्दै वा रोजगारीमा लाग्दै यी सबै गरिरहेका छन् ।
जब युवतीहरूले आफूलाई मूल्यवान् महसुस गर्छन्, उनीहरू अरूका लागि आदर्श बन्छन् । अभिभावक, शिक्षक र स्थानीयले पनि आफ्ना छोरीहरूको उपलब्धिमा गर्व गर्न थालेको हामीले देखेका छौं ।
किन अंग्रेजी, डिजिटल साक्षरता र नेतृत्व तालिमलाई एउटै कार्यक्रममा जोड्नुपर्छ ?
यी तीनवटै सीपलाई एउटै कार्यक्रममा जोडियो भने युवतीहरूले जीवन साँच्चिकै बदल्छन् । अंग्रेजी भाषाले युवतीहरूलाई विश्वव्यापी अवसरसँग जोड्छ । प्रविधिसँगै डिजिटल साक्षरताले उनीहरूमा आत्मविश्वास दिन्छ भने नेतृत्व–कौशलले उनीहरूको निर्णय गर्ने क्षमतालाई अझ बढाउँछ ।
सीमान्तकृत समुदायका युवतीहरूका लागि यो मिश्रण परिवर्तनकारी बन्न पुग्छ । उनीहरू सिक्दै छन् र नेतृत्व गर्न तयार हुँदै छन् ।
छोरीको शिक्षामाथि गरिएको लगानीले समुदायको बृहत्तर हितमा कसरी प्रभाव पार्छ ? तपाईंले कुनै प्रवृत्तिगत परिवर्तन देख्नुभयो ?
एकदमै धेरै प्रभाव पार्छ । सुरुमा त अभिभावकहरूले छोरीहरूलाई स्कुलपछिको क्लबमा पठाउन हिच्किचाहट देखाए । तर, पछि जब छोरीहरूमा आत्मविश्वास देखे, कार्यक्रमहरूमा बोलेको देखे र कतिपय अवस्थामा कमाउन पनि थाले, अभिभावकहरूको सोच बदलिन थाल्यो । केही स्थानीय सरकारले त एज क्लबहरू सञ्चालनका लागि केही स्रोतको व्यवस्थापन पनि गर्न थाले । मेरो विचारमा यही नै युवती शिक्षाको मूल्य बुझ्ने प्रमाण बनिदियो ।

परिवार र स्थानीय नेतृत्वको भूमिका कस्तो देख्नुभयो ?
युवतीहरूको उन्नयनका लागि उनीहरू सहयोगी पनि हुन सक्छन्, अवरोधक पनि । त्यसैले, हामीले सुरुमै तिनीहरूलाई सहभागी गराउँछौं । हामी सफलताको कथा सुनाउँछौं । कार्यक्रममा निम्त्याउँछौं । यसका वास्तविक फाइदा देखाउँछौं । एकपटक परिणाम देखेपछि भने उनीहरू परिवर्तनका अगुवा बन्न पुग्छन् ।
शिक्षाले कसरी युवती र समुदाय नै बदलिरहेको छ भन्ने कुनै उदाहरण बताइदिनुहोस् न ।
सुर्खेतकी रचना बन्था एउटी उदाहरण हुन् । उनले घरबाहिर निस्कन एजमा भाग लिइन् । पछि उनले त अरू युवतीलाई पनि बालविवाह नगर्न प्रेरित गर्न थालिन् । त्यस अनुभवले उनलाई स्थानीय निर्वाचनमा उम्मेदवार बन्न हुटहुटी दियो । चुनाव लडिन् र जितिन् पनि । अहिले उनी नगरपालिकाकी कार्यपालिका सदस्य छिन् ।
रचनाको यात्राले के देखाउँछ भने शिक्षाले व्यक्तिगत जीवन मात्र बदल्दैन, परम्परागत भूमिकालाई पनि बदल्छ । त्यसले समुदायलाई नै प्रेरित गर्छ ।
युवतीहरूलाई उनीहरूको ठूलो करिअरको सपना देख्न र तिनलाई सहयोग गर्न लागिपरेकाहरूलाई कुनै एउटा सन्देश दिनुप-यो भने के भन्न चाहनुहुन्छ ?
युवतीहरूलाई भन्छु, तपाईंका सपना जायज छ । रूढीवादी सोचले ती सपना नमार्नुस् । यस संसारलाई तपाईंको नेतृत्व र नवीनताको खाँचो छ ।
नीति निर्माताहरू र शिक्षकहरूलाई म के भन्न चाहन्छु भने, युवतीहरूमा लगानी गर्नु भनेको नेपालको भविष्यमा लगानी गर्नु हो । युवतीलाई अवसर दिँदा उनले आफ्नो जीवन मात्र परिवर्तन गर्दिनन्, अन्य थुप्रैको जीवन पनि परिवर्तन गरिदिन्छन् ।






