राजनीतिक परिवर्तनले स्थापित गरेको संघीयता र संघीयतासँगै सबलीकरण भइरहेको स्थानीय सरकार नागरिकका असीमित आकांक्षाहरु पूरा गर्न नसक्दा आलोचित छन् । स्थानीय सरकारका स्रोत साधन र कानुनी सीमितताबीच गरिरहेका कामहरू पनि प्रवद्र्धनलायक छन् । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमार्फत उत्कृष्ट ३ भित्र परेको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीसँग राजधानीका लागि अमृतनाथ तिमल्सिनाले गरेको कुराकानीको अंश:
संस्थागत क्षमता स्वमूल्यांकतर्फ उत्कृष्टता हासिल गर्नुभयो, गाउँपालिकालाई यसरी उत्कृष्ट बनाउन के कस्ता उपाय अवलम्बन गर्नुभयो ?
हामी निर्वाचित हुँदा त्यस वर्ष ५ सय हाराहारी स्थानीय तह स्वमूल्यांकन प्रणालीमा समावेश रहेछन् । त्यतिबेला हाम्रो गाउँपालिका ४ सय ५६ नम्बरमा भएजस्तो लाग्छ । स्रोत साधन सबैका हिसाबले हामी कमजोर अवस्थामा थियौँ । हामीले स्थानीय तह संस्थागत स्वमूल्यांकनका सूचकका आधारमा भन्दा पनि समग्र हिसाबमै गाउँपालिकालाई माथि उकास्न जरुरी थियो । बाटो कालोपत्रे थिएन, खानेपानीको सुविधा थिएन, शिक्षा स्वास्थ्य पनि कमजोर अवस्थामा थियो । स्वास्थ्य संस्थामा सिटामोल नभएको अवस्था, शिक्षक विद्यालय नगएर चोक चिया पसलमा देश बिग्रियो भन्दै बस्ने अवस्थामा थियौँ । आन्तरिक आम्दानी पनि कमजोर अवस्थामा थियौँ । हामीभन्दा अगाडि अध्यक्ष एउटा पार्टीको उपाध्यक्ष र बहुमत कार्यपालिका अर्को पार्टीको हुँदा काम राम्रोसँग नभएको अवस्था थियो । विकास निर्माणका कामहरू अलपत्र थिए । कर्मचारीहरू एक वर्षभन्दा बढी कोही पनि नटिक्ने अवस्था थियो । हामीले संस्थागत सुशासन, जनप्रतिनिधि र कर्मचारीको समन्वयलगायतका विषयलाई आधार मानेर समग्रतामा सुधारको संकल्प लियौँ ।
जनप्रतिनिधि कर्मचारीको सम्बन्ध सुधार र समन्वयमा कसरी काम गर्नुभयो ?
हामीले जनप्रतिनिधिहरू जो जो जुन पार्टीबाट निर्वाचित भए पनि जनताको काम गर्नका लागि म्यान्डेट पाएका कारण सबैले आफ्नो सीमितता र दायरामा रहेर आफ्ना प्रतिबद्धता पूरा गर्न क्षमताअनुसार काम गर्ने गरी सहकार्यको नीति लियौँ । यसमा कर्मचारीहरूको समन्वयलाई प्राथमिकतामा राख्यौँ । कर्मचारीहरूका पनि समस्या हुन सक्छन्, उनीहरूका अफ्ठेराहरूलाई पनि सुनेर समाधान गर्ने र सँगसँगै पालिकाको विकासमा सहकार्यको नीति लियौँ । यसले गर्दा प्रमुख प्रशासकीय अधिकृतदेखि अन्य कर्मचारीहरूलाई परिचालन गर्न सहज भयो । शिक्षा, स्वास्थ्यलगायतका विषयगत क्षेत्रलाई पनि स्रोत, जनशक्ति तथा परिचालन र समन्वयमा प्रभावकारी ढंगले काम ग¥यौँ । ५ वर्षमा हामीलाई प्राप्त म्यान्डेटको अनुभूति गराउने हाम्रो साझा संकल्प रह्यो । हामी जनप्रतिनिधिबीचमा स्वस्थ बहस हुन्छ तर सर्वसम्मतिमै पास हुन्छ । धेरै जसो पालिकामा पार्टीभित्रकै समूहका लडाइ र फरक पार्टीबीचका द्वन्द्व छन् । अर्को पक्ष जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व हो । यो दुवै खालको समस्या हाम्रो स्थानीय तहमा छैन । चुनावलगत्तै धेरैले आफ्नो पार्टीको कर्मचारी सरुवा गरेर ल्याउनुभयो । हामीले उहाँसँग समन्वयमा काम गर्न सक्यौँ । त्यसले राम्रो सन्देश गयो । हामीले अहिलेसम्म कर्मचारी यो पठाउनुस् भनेर रोज्न गएका छैनौं ।
स्थानीय स्तरमा आन्तरिक आम्दानीका स्रोत के कस्ता छन् ? कसरी आम्दानी बढाइरहनुभएको छ ?
गाउँपालिकाको आन्तरिक आम्दानीका स्रोतका रूपमा नदीजन्य सामग्री, पटके करसहितको संकलनले ४२ लाख रुपैयाँ थियो हामी आउँदा । तर हामीले विपद् तथा वातावरणीय दृष्टिले खोलाबाट सामग्री संकलनको काम अघि बढाउन नहुने निष्कर्ष निकालेर रोक्यौँ । पटके कर लिइएको रहेछ । गाउँपालिकामा आउने सीमित सवारीसाधनलाई पटके कर लगाएर दुःख दिन हुँदैन भनेर हटाइदियौँ । यसो गर्दा २० लाख रुपैयाँभन्दा कम आन्तरिक आय थियो । अहिले हामीले करका लागि नयाँ क्षेत्रहरू खोजेका छौँ । उद्योगधन्दा, कल कारखाना व्यवसायलाई करको दायरामा ल्याएका छौँ । कोही कर तिरिरहने कोही दर्ता नै नगरी व्यवसाय चलाउने अवस्थाको अन्त्य गरी सबै खालका व्यवसायलाई करको दायरामा ल्याएका छौँ । अहिले खोला स्वच्छ, सफा र सुरक्षित छ । यो खोलामा माछाका भुरा हालिदिने र समय समयमा माछा मार्न दिने गरेका छौँ । यसो गर्दा खोलाबाट माछा मारेर बिक्री गरेर पनि आम्दानी भएको छ ।
विपद् न्यूनीकरण र विकासको चाहनालाई कसरी सन्तुलन गर्नुभयो ?
हामीले २ सय मिटरभन्दा बढी नयाँ ट्र्याक नखोल्ने नीति नै लियौँ । हरेक घरघरमा बाटो खोल्यौं भने सरसफाइ, मर्मत भनेर झन् खर्च बढ्छ, जुन हामीले नियमित रूपमा गर्न सक्दैनौँ । त्यो भन्दा खुलेका सडक स्तरीय बनाउने र नयाँ नखोल्ने नीति लियौँ । पूर्वाधार विकासमा पर्यावरण र इकोसिस्टमलाई ध्यानमा राखेर गर्ने नीति लियौँ । गाउँ सभाले पास गरेर अनुमति नलिई नयाँ बाटो नखोल्ने निर्णय नै ग¥यौँ । खोला नखोल्ने र नयाँ ट्र्याक नखोल्ने कुरालाई विपद् न्यूनीकरण र विकासको चाहनालाई सम्बोधन गर्दै स्थानीय आवश्यकताअनुसार अघि बढ्न सक्यौँ । खोला जोगाउँदा अहिले वार्षिक ५ लाख रुपैयाँभन्दा बढीको माछा दरौं खोलाबाटै मात्रै बिक्री हुन्छ । खोला पनि पर्यावरणीय र आर्थिक हिसाबले राम्रो भएको छ ।
स्थानीय आर्थिक विकासका लागि भएका प्रयासहरू के कस्ता छन् ?
हामीले स्थानीय आम्दानी विकासका लागि स्याङ्जा चिनाउने सुन्तलाको व्यावसायिक खेतीको विस्तार र पर्यटन प्रवद्र्धनलाई लिएका छौँ । सिरुबारीको नजिकै भएको र होमस्टेका कारण प्रसिद्ध भएकाले अर्जुनचौपारीमा पनि होमस्टेको अवधारणामा पर्यटन विकासलाई प्राथमिकतामा राखेका छौँ । हामी निर्वाचित भएर आएपछि नेपालको पहिलो नवग्रहको मन्दिर बनाएका छौँ । २२ अटो व्यवसायी छन् । हरेक शनिबार १० हजारभन्दा धेरै भक्तजन आउने गर्छन् । मन्दिरमा सबै खर्च कटाएर शनिबार मात्रै हप्ताको ५० हजार रुपैयाँभन्दा बढी रकम जोगिने गरेको छ । मन्दिर आसपास पूजा सामग्री, प्रसाद, स्थानीय उत्पादनहरू, कोसेली तथा अन्य धेरै व्यवसायहरू विस्तार भएको छ । यसले पनि अर्थतन्त्र उकास्न सहयोग गरेको छ ।
प्रमुख उपप्रमुख युवा हुँदा काम गर्न कत्तिको सजिलो भएको छ ?
प्रमुख उपप्रमुख हामी दुवै जना ४० मुनिका छौँ । हामीलाई नयाँ पुस्ताको माग, भावना र उनीहरूको विषयवस्तु बुझ्नमा पुस्तान्तर ग्यापको समस्या छैन । हामीकहाँ सिनियर वडाध्यक्षहरू हुनुहुन्छ । यसले स्रोतसाधनको खोजी, सम्बन्ध विस्तार, अन्तरपुस्ता परिचालनमा सजिलो भएको छ । हामीले नयाँ अनुभूति दिन हरेक घरमा १५ दिनमा स्वास्थ्यकर्मी पुग्नुपर्ने व्यवस्था गरेका छौँ । हामीले महिला सशक्तीकरणलाई नमुना ढंगले अघि बढाएका छौँ । ६९ वटा आमा समूहलाई दर्ता गरेर मूल प्रवाहमै ल्याइसकेका छौँ । केन्द्रले दिने भन्दा आमा समूहको सक्रियतामा स्थानीय आवश्यकता र मागका आधारमा योजना निर्माण गर्ने गरेका छौँ ।
स्थानीय आर्थिक विकासको प्रणालीगत सुधारमा कस्ता प्रयास गर्नुभएको छ ?
हाम्रो कृषि प्रणालीमा केही समस्याहरू छन् । रैथाने बिउ तथा नश्लको संरक्षण, व्यवसायीकरण, चक्लाबन्दीलगायतका सन्दर्भमा हाम्रो मौलिक अवस्था अध्ययन गरेर रणनीति बनाइनुपर्नेमा अरूका सिफारिसका नश्ल, बिउ, संरचनात्मक अभ्यासहरू भइरहेका छन् । यसलाई बदल्न जरुरी छ जुन कुरा हामी पालिकाले मात्र गर्न सक्दैनौँ । आधुनिक कृषिका नाममा, अनुदान पाइन्छ भनेर धेरै मानिस कृषिको आधुनिकीकरणका नाममा फसेका छन् । स्थानीय आर्थिक विकासका कृषि र पर्यटन केन्द्रित मौलिक अध्ययन हुन जरुरी छ । आधुनिकताका नाममा अहिले हाम्रो स्याङ्जाको यस्तो स्वादिलो सुन्तला हराइरहेको छ ।






