काठमाडौं । अभिनेता आर्यन सिग्देल चकलेटी नायकको रूपमा परिचित छन् । नेपाली चलचित्रमा लामो समय सुकिलो, सुन्दर प्रेमीको रूपमा प्रेमिल कथामा उनी प्रस्तुत हुँदै आएका थिए । तर यस पटक उनी चलचित्र ‘कोशेढुंगा’मा गाउँले गोठालो भूमिकामा छन् ।
सहरिया युवाबाट ग्रामिण चरित्रमा काम गर्न आफूलाई निर्देशक दिनेश राउतले चलचित्र ‘पुजार सार्की’को उत्प्रेरित गरेको उनी बताउँछन् । पुजार सार्कीमा उनी सहरबाट अध्ययन गरेर गाउँ फर्केको युवाको भूमिकामा थिए । यसपछिको चलचित्र ‘महाभोज’मा उनको भूमिका गाउँ पालिकामा स्थानीय राजनीतिकको रूपमा थियो । तर यस पटक चलचित्र ‘कोशेढुंगा’मा आफू वैदेशिक रोजगारबाट गाउँ फर्केको युवाको भूमिकामा रहेको यी अभिनेताले बताए ।
उनको चलचित्र ‘कोशेढुंगा’ यही १२ भदौबाट रिलिज हुँदै छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानीसँगको वार्तालापमा अभिनेता आर्यनले यस पटक आफूले गोठालोको भूमिका निर्वाह गरेको बताएका छन् ।

यो चलचित्रलाई प्रेविल कँडेल, किशोर अनुराग, दिनेश खड्काले निर्माण गरेका हुन् । आर्यन यो चलचित्र छायांकनमा जानु भन्दा केही दिन अघि मात्र अनुबन्धित भएका थिए । किशोरका भाइ तथा यस चलचित्रका अर्का एक निर्माता निदेश अधिकारी र आर्यन सहपाठी रहेछन् । निर्देशक सरोज र निर्माता निदेशको चाहना अनुसार आफू यो चलचित्रमा अन्तिममा अनुबन्धित भएको आर्यनले खुलाए ।
चकलेटी हिरोको परिचय बनाएको आफूलाई गोठालोको भूमिकामा निर्देशक सरोज पौडेलले कसरी उतार्लान भन्ने उनको चिन्ता थियो । तर चलचित्रको छायांकन सेटमा पुगेर पहिरन, मेकअप र गेटअपले आफूलाई दुरुस्त गोठालोको रूपमा ढालेपछि बल्ल यी अभिनेता ढुक्क भएका रहेछन् ।
चकलेटी नायकले गोठालोको भूमिका निर्वाह गर्नुको कारण’bout आर्यनले भने,‘वैदेशिक रोजगारबाट फर्केर कैयौँ युवाहरू नेपालमा पुन गाईबस्तु पालन तथा कृषि पेसामा जमेका छन् । नेपालमा कृषि फार्म खोलेर पशुपन्छी पाल्ने तथा सामूहिक रूपमा व्यवस्थित हिसाबले खेती गर्ने क्रम मौलाउँदै गएका कारण उनीहरूलाई हौसला प्रदान गर्न पनि मैले यो चलचित्रमा गोठालोको भूमिका निर्वाह गरेको हुँ ।’
अभिनेता आर्यन कलाकार बन्नुको कारण पनि गोठालो जीवन नै रहेछ । काठमाडौँको काठ क्षेत्र थानकोटका रैथाने आर्यनले एसएलसी दिंदासम्म खेतीसँगै गोठालो जीवन भोगेका रहेछन् । त्यति बेला उनको घरमा तीन वटा दुहुना गाई, गोरु, खसी बाख्रा थिए । खेती गर्न प्रशस्त जमिन पनि थियो ।
त्यो पल सम्झँदै आर्यनले भने,‘बुबा सरकारी जागिरे भएका कारण बिहान बेलुका घाँस काट्न, गोवर सोर्न, गाई बाख्रा चराउन र खेतेको काम गर्न मैले ममीलाई सघाउँथेँ । एसएलसी दिए पछि फूर्सदमा यो काम गर्न दिक्क लागेर कलाकार बन्ने चाहना देखाउँदै म पुतलीसडकको परिवर्तन नेपालमा अभिनय कक्षामा भर्ना भएँ ।’
यसरी घरमा काम सघाउँदै र पढ्दै गरेका आर्यन बिस्तारै अभिनय प्रशिक्षणमा व्यस्त हुन थाले । त्यस पछि घरमा गाईबस्तु पनि आमाले घटाउँदै गएको स्मरण यी अभिनेताले सुनाए,‘म पनि खेती किसानी र गोठालो जीवनबाट कला क्षेत्रमा आएको मान्छे हुँ । सोही कारण यस पटक चलचित्र कोशेढुंगामा गोठालो भएर काम गर्दा मलाई त्यो बाल्यकालमा फर्केको जस्तो लाग्यो ।’
यो चलचित्रमा आफूले निर्वाह गरेको चरित्रले वैदेशिक रोजगारमा रहेका युवाहरूलाई नेपाल फर्केर यतै केही गर्नु पर्छ भन्ने सन्देश दिने कथन यी अभिनेताको छ । मुलुकका धेरै समस्याहरू बिच पनि यहाँ केही गर्न सकिन्छ भन्ने सन्देश आफ्नो चरित्रले दिने आर्यनले बताए ।

यो चलचित्रमा उनले अभिनेत्री नीति शाहको जोडी भएर काम गरेका छन् । नीतिसँग उनको उमेर १० वर्षको फरक देखाइएको पनि आर्यनले खुलाए । कृषि पेसामा फर्केर गाउँमा आफ्नो छुट्टै परिचय बनाएको युवाको भूमिकामा आफूले दर्शकबाट यस पटक प्रशस्त माया पाउने विश्वास यी अभिनेताको छ । यस’bout उनले भने,‘हुन त यस अघि एउटा चलचित्रमा मैले ग्रामीण युवाको भूमिका निर्वाह गरेको थिएँ । तर यस पटक पूर्ण गाउँले गोठालोको भूमिका भएका कारण दर्शकले मलाई फरक चरित्रमा देख्नु हुनेछ ।’
स्याङ्जाको सिरुवारिबाट तीन घण्टा माथि जंगल छेउमा यो चलचित्रको छायांकनको लागि गाई गोठ र घर नै बनाइएको थियो । छायांकनकै लागि भनेर त्यहाँ केही दिन गाईहरू पालिएको पनि आर्यनले जानकारी गराए । पूर्णबहादुरको सारंगी जस्तो ब्लक बस्टर चलचित्र निर्देशन गरिसकेका सरोज पौडेलको निर्देशनमा कोशेढुंगा तयार भएको हो ।
यता विवाह पछि थानकोटमै परिवारसँग बस्दै आएका आर्यन आफ्नै करेसा बारीमा आजकाल तरकारी उब्जाउँछन् । घरमै पालेको गाईको दूध खान्छन् । बजारको तयारीमा विषादी हुने भएकाले आफूहरूले घरमै तरकारी उब्जाएर खाने गरेको पनि आर्यनले जानकारी गराए । चलचित्र पछिको अवकाश जीवनमा कृषि फार्म खोलेर कृषि तथा पशुपालनमा रमाउने चाहना यी अभिनेताले राजधानीसँग व्यक्त गरे ।






