वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले वृहत महिला सम्मेलन गर्दै विभिन्न विधाका २५ जना महिलाहरुलाई सम्मान गरेको छ । पूर्व राष्ट्रपति विद्या भण्डारीको हातबाट २५ जना नै महिलाहरुलाई शनिबार संघले दोसल्ला ओढाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।
संघले ‘नारी शक्ति, समर्पण र सम्मान’ भनी वृहत महिला सम्मेलन गर्दै बारा, पर्सामा छरिएर रहेका विभिन्न १६ विधाका अब्बल महिलाहरुलाई सम्मान गरी बाहिर चिनाउने पहिलो पटक प्रयास गरिएको वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । सम्मानित हुने महिलाहरुमा पर्साका दुई जना पत्रकार महिला माधुरी महतो र लक्ष्मी खरेल पनि सम्मानित भएका छन् । डा.लक्ष्मी थापाको संयोजकत्वमा २७ सदस्य महिला उद्यमशील विकास समिति मातहतमा रहने गरी वीरगन्ज उद्योग बाणिज्य संघले महिलाकै नेतृत्व छुट्टै समिति बनाई बारा, पर्साको विभिन्न क्षेत्रका अब्बल महिलाहरुलाई संघले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा मधेशका छोरीहरु सरकारी निकायमा पनि उच्च पदमा पुगेका, उद्योग, व्यवसायमा आफै नेतृत्व गर्दै रहेका, स्वास्थ्य क्षेत्रमा रही अब्बल भएका चिकित्सकसँगै शिक्षा, सुरक्षा, समाज सेवा, फोटो ग्राफी, संचारकर्मी, महिला अधिकारकर्मीलगायतका क्षेत्रमा राम्रो स्थान बनाएका महिलाहरुलाई छनौट गरिएको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले बताए । पहिलो सुरुवातमा २५ जना महिलाहरु संघले सम्मान गरेर समाजमा लुकेर रहेका दक्ष महिलाहरुलाई सतहमा ल्याउने प्रयासको थालनी गरेको पनि उनको भनाइ छ ।

सम्मानका लागि बारा, पर्साका विभिन्न व्यवसाय र ईलममा जोडिएका महिलाहरुको आवेदन माग गरी अनलाईन र अफलाइन दुवै तरिकाबाट आवेदन दिएका २ सय ५० जना महिलाहरुबाट छनौट गरिएको कार्यक्रम आयोजक महिला उद्यमशिलता विकास समिति संयोजक डा.लक्ष्मी थापाले बताइन् । छनौट प्रकृयामा वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठको संयोजकत्वमा पाँच सदस्य समिति नै बनाई सो समितिले पारदर्शी ढंगले विभिन्न मापदण्ड बनाई त्यसको आधारमा छनौट गरिएको संयोजक गणेश लाठले बताए ।
कार्यसमितिमा एकजना पनि महिला नरहेको वीरगन्ज उद्योग बाणिज्य संघले अलग्गै मातहतको समिति बनाएर महिला हितमा भव्य कार्यक्रम गरेकोमा पर्सा, बाराका महिलाहरु खुसी व्यक्त गरेका छन् ।
आर्थिक नगरी वीरगन्जका महिलाहरुलाई विभिन्न क्षेत्रमा अब्बल हुन र ओझेलमा परेर पनि सामाजिक कार्य, राजनीतिक, र उद्योग व्यवसाय मात्र नभई सरकारी क्षेत्र, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा लागी उदाहरणीय कार्य गर्दै आएका महिलाहरुलाई सतहमा ल्याउने प्रयास प्रभावकारी रहेको पूर्व राष्ट्रिपति विद्या भण्डारीले पनि आफ्नो सम्बोधनको क्रममा बताइन् । उनले महिलाहरुको शक्ति, समर्पण र त्यागलाई सबै व्यक्ति, क्षेत्र र निकायले बुझेर उनीहरुको सम्मान गर्नु मुलुकको समृद्धिमा पनि टेवा पु¥याउनु भएको उनले जोड दिइन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पूर्व राष्ट्रपनि भण्डारीले आर्थिक नगरीका महिलाहरुको उपस्थिति नेतृत्वदायी हुनु पर्नेमा जोड दिंदै उनले सुख्खा बन्दरगाह भएको वीरगन्जमा सहकारी क्षेत्रमा पनि महिलाहरुले चनाखो भएर गलत र सही पहिचान गरी कारोवार गर्नु पर्ने बताइन् । यहाँका महिलाहरुले गलतलाई पाखा लगाई सु–कार्यमा जोड दिन पनि चुक्न नहुने उनले सुझाव दिएकी छन् ।