मुख्यमन्त्रीले अलपत्र पारेको गुल्मी अस्पताल

गुल्मी । समयमै काम भएको भए गुल्मी अस्पतालको नवनिर्मित भनवबाट सेवा सुरु भइसकेको हुन्थ्यो । तर निर्माणाधिन भवनको काममा ढिलाई हुदाँ अहिले पनि गुल्मी अस्पताल पुरानै भवनबाट गुज्रिरहेको छ । जिल्ला बासीहरुको सहजताका लागि वि.स. २०७७ सालमा सदरमुकाम तम्घासमा ५० शैयाको नयाँ अस्पताल बनाउने कार्य सुरु भएको थियो ।

तर हालसम्म पनि अस्पताल नबन्दा अस्पतालबाट प्रदान हुदैँ आएको सेवा प्राभावित बनेका छन् । गुल्मी अस्पतालमा साँघुरो गल्ली र साना कोठा भएका कारण बिरामीलाई थप गाहे हुने गरेको छ । मानिस हिड्ने गल्लीमा बिरामीको लागि बिश्राम स्थल बनाइएको छ भने ग्राउण्डलाई पार्टेशन गरेर ल्याब र फार्मेसी बनाइएको छ ।

हाल संचालन भइरहेको अस्पतालको पुरानो भवनमा छ वटा मात्रै ओपिडी कक्षहरु रहेका छन् । भिडियो एक्सरे र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिएका कारण थुप्रै पटक विद्युत समेत सट भएको छ । पुरानो टिनको छानोमुनी बसेर सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई गाहे परिरहेको छ । तर निर्माणाधिन नयाँ भवनमा १२ वटा ओपिडी कक्ष, अप्रेशन कक्ष, मिटिङ हल लगायतका संरचनाहरु रहेका छन् । जसले गर्दा उपचारमा सहजता आउनेछ । हाल जिल्लामै आइसियु सेवा संचालनको लागि नयाँ संरचना थप गरी दुईजना जनशक्ति समेत थप गरिएको छ ।

तर नयाँ भवन नबन्दा आइसियु सेवा समेत संचालनमा आउन नसकेको अस्पतालका डाक्टर विभव बस्यालले गुनासो गरे । ‘एउटै ओपिडी कक्षमा दुई÷तीनजना डाक्डर बसेर सेवा दिनुपर्ने अवस्था छ ।’ उनले भने, ‘पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो भएको छ ।’ डाक्टर बस्यालले अहिले दैनिक ज्वरोका बिरामीको संख्या बढीरहेको र दैनिक चार सय जनासम्म बिरामीको जाँच गर्नुपर्दा निकै गाहे भएको बताए । ‘बल्लतल्ल सेवा दिएका छौँ, जनशक्ति भएर पनि ठाउँको अभाव छ ।’ उनले भने ।

०७७ सालमा भवन बन्न सुरु हुँदा काम तिब्र गतिमा भएको थियो । कामको प्रकृति हेर्दा झण्डै दुई बर्षमा सकिने आँकलन थियो । तर पछि निर्माण व्यवसायीले काममा ढिलाई गरे । काममा ढिलाई भएपछि रेसुङ्गा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समिति लगायतले मन्त्री, मुख्यमन्त्री लगायतका व्यक्तिलाई भेटेर अस्पताल बनाउन आग्रह गरेपनि व्यवसायीका अगाडी नेता र उच्च पदस्थ कर्मचारीका आग्रहको कुनै सुनुवाई भएन । ‘भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन् ।’

अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भने, ‘विभिन्न बाहानामा काममा ढिलाई गरेका छन् ।’ यसरी काममा ढिलाई हुँदा सर्वसाधारण नागरिकले सेवामा सास्ती पाएको उनले स्वीकार गरे । जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्रीले बारम्बार निर्माण व्यवसायीलाई काममा ताकेता गरेपनि अटेरी गरेको प्रतिक्रिया दिए । आफुहरुले बारम्बार ताकेता गर्दा पनि व्यवसायिका अगाडी केही सीप नलागेको बताए ।

संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत काम हुनेगरी स्वच्छन्द÷बानिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो । अझ मुख्य कुरा त यस भवनको निर्माणको जिम्मा पाएको कम्पनीका मालिक इन्द्रबहादुर बाँनिया हाल बाग्मती प्रदेशका मुख्यमन्त्री बनेका छन् । उनै मुख्यमन्त्री बाँनियाले गुल्मीको अस्पताल अलपत्र पारेका छन् । भवनको कुल लागत २५ करोड ६४ लाख दुई सय तीन रुपैँया १७ पैसा रहेको छ ।

०७८ साल असार १८ गते भवन निर्माणको सम्झौता भएकोमा त्यसको दुई बर्षपछि अर्थात ०८० असार १७ गते काम सकिनुपर्ने थियो । तर हालसम्म काम सकिएको छैन । पछिल्लो समय तीन पटक म्याद थप भई ०८१ पौषसम्म थप गरिएको छ । सुरुमा दसैँसम्म सक्ने भनेपनि कामको प्रकृति हेर्दा दसैँसम्म भवन सकिने कुनै छाटँकाट छैन । आयोजनाका इन्जिनियर शुशिल रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको बताए । ‘भवन निर्माणको काम सकिएको छ, अब फिनिसिङ्गको मात्रै बाँकी छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'