इलाम । रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने र जैविक विविधता संरक्षणमा सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन हुने भएको छ । दीपज्योति युवा क्लबको आयोजनामा हुने म्याराथन प्रतियोगिता इलाम सदरमुकामबाट सुरु भई सन्दकपुरमा पुगेर टुङ्गीने छ ।
पुरुष खुला, महिला खुला र स्थानीयतर्फ हुने प्रतियोगिता सन्दकपुरसम्म ४४.२ किलोमिटरको दूरीमा आयोजना गरिने आयोजकले जनाएको छ । स्थानीयतर्फको प्रतिस्पर्धामा चाहिँ रेडपाण्डा संरक्षणको काम भइरहेको इलाम, पाँचथर ताप्लेजुङका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ पहिलो पुरस्कार समान एक लाख ५० हजार, दोस्रो एक लाख, तेस्रो ५० हजार र चौथो पुरस्कार २० हजार रुपैयाँ राखिएको आयोजक क्लबका राम रिमालले जानकारी दिए ।
स्थानीयतर्फ चाहिँ पहिलोलाई २५ हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कार राखिएको छ । विश्वमै लोपुन्मुख रुपमा रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलाममा पाईने भएको कारण यसको संरक्षणको लागि म्याराथन प्रतियोगिताको आयोजना भएको आयोजकले जनाएको छ ।
रेडपाण्डा (हाब्रे) संरक्षणका लागि सन्दकपुर गाउँपालिका पाँच स्थित जौवारीमा वृक्षारोपण समेत भईसकेको छ । रेडपाण्डा आवत जावत गर्ने जैविक मार्ग संरक्षणगर्न लागि निजी आवादि जमिन खरिद गरेर सरकारको माताहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षारोपण गरिएको हो । रेडपाण्डाको चरिचरन तिब्र भएको र वनजंगल विनास भएसँगै निजि आवादीमा रेडपाण्डाको वासस्थान मासिएको कारण वृक्षारोपण गरि संरक्षण थालिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षणको काम अघि बढेको छ ।
पहिलो चरणमा एक सय ७५ रोपनि जग्गा र दोस्रो चरणमा एक सय ९८ रोपनि जग्गा खरिद गरेर विृक्षारोपणको काम थालिएको थियो । उक्त ठाउँमा विभिन्न व्याक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गरी रेडपाण्डाको आहार रोपिएको स्थानीय दिपक गुरुङले बताए । रेडपाण्डाको आहाराको रुपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुँरास जस्ता वनस्पिति लगाईएको छ ।
संरक्षणका लागि रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा रेडपाण्डा संरक्षण सम्बन्धी पढाइ समेत हुदै छ । उत्तरी इलामको रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयका कक्षा ६ र ७ मा ऐच्छिक रुपमा वातावरण संरक्षण शिक्षा पढाइ समेत हुँदै आएको छ । घाँस, दाउरा, निगालो र मालिङ्गोजस्ता महत्वपुर्ण वन पैदावार संकलनका क्रममा स्थानीय समुदाय रेडपाण्डाको वासस्थानमा आश्रित भएकाले संरक्षणका लागि पढाई सुरु गरिएको हो ।
संरक्षणमा चुनौती
बर्षेनी रेडपाण्डा संरक्षणका लागि खर्च गरिरहे पनि रेडपाण्डा संरक्षणमा चुनौती बढिरहेको हो । इलामको सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगेथाम, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वनलगायतमा पाइने मालिंगो र भालुचिण्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा बिक्री गर्न थालेपछि रेडपाण्डा झन संकटमा पर्न थालेको छ ।
लजालु स्वभावको भएकोले जंगली जनावर र कुकुरले सजिलै आक्रमण गर्ने हुदाँ पनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन । रेडपाण्डा संरक्षणका लागि नेटवर्क मार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखिए पनि कति रेडपाण्डा छन भन्ने तथ्याङक छैन । रेडपाण्डा संरक्षणका लागि सन २००७ देखि रेडपाण्डा नेटवर्कले रेडपाण्डा संरक्षणमा काम गरिरहेको छ ।