इटहरी । घटना १ : ४ भदौमा २८ वर्षीय विकास राईको सुनसरीस्थित झुम्का कारागारमा मृत्यु भयो । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका, भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई धरान उपमहानगरपालिका–१२ बस्ने निवासी उनी २५ हजार धरौटी तिर्न नसकेका कारण २६ चैत २०८१ देखि कारागारमा थिए ।
बिरामी कैदीको स्वास्थ्य परीक्षण गर्दा ‘भाइरल संक्रमण’ पुष्टि
घटना २ : १६ भदौमा सुनसरीको गढी–६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भयो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उराँवको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।
घटना ३ : १७ भदौमा धरानका २४ वर्षीय सागर राईको मृत्यु भयो । लागूऔषध मुद्दामा पुर्पक्ष कैदमा रहेका राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि बीपी प्रतिष्ठानमै भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भयो ।
घटना ४ : १८ भदौमा सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भयो । जबरजस्ती करणी मुद्दामा पुर्पक्ष कैदी रहेका यादवलाई ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या भएको थियो ।
सुनसरीको झुम्का कारागारमा १५ दिनको अवधिमै चार जना कैदीको मृत्युको कारण ‘भाइरल संक्रमण’ रहेको पुष्टि भएको छ ।
एकैपटक सो संख्यामा कैदीको मृत्यु हुनु र ठूलो संख्यामा कैदी बिरामी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य जाँच गरेको थियो । जाँचपछि प्राप्त रिपोर्टअनुसार कैदीहरूको मृत्युको कारण भाइरल रहेको पुष्टि भएको हो ।
भदौ १८ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र र सुनसरी प्रहरीका एसपी सुमनकुमार तिम्सिनासहितले कैदी बिरामी भएको र स्वास्थ्य जाँच गर्नका लागि बीपी प्रतिष्ठानलाई जानकारी गराएका थिए । कारागारमा करिब एक सय जना कैदीलाई ज्वरो, जिउ दुख्ने, नाक बन्द हुने र श्वास फेर्न समस्या देखिएको जानकारी प्रतिष्ठानलाई गराएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली कारागार पुगेर परीक्षण तथा उपचार सुरु गरेको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारका अनुसार स्थलगत रूपमा गरिएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका एक हजार सात सय ९३ जना कैदीमध्ये तीन सय ५३ जनाको जाँच गरिएको थियो । तत्काल परीक्षणमा करिब एक सय जनामा उच्च ज्वरो देखिएको र ३५ जनाको मलेरिया परीक्षण गर्दा दुई जनामा पोजिटिभ देखिएको उनले बताए ।

‘स्वास्थ्य टोलीले गम्भीर अवस्थामा रहेका १२ कैदीलाई सोही राति नै प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएर उपचार गरेको छ,’ सहप्रवक्ता डा. कुमारले भने, ‘अहिले पनि थप पाँच जना बिरामी ल्याइएको छ । हालसम्म सबैको अवस्था सामान्य रहेको छ ।’ उनका अनुसार सरुवा रोगको महामारीको सम्भावनालाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउँदै उपचार भइरहेको छ ।
उनका अनुसार कैदीहरूमध्ये ३५ जनामा डेंगु परीक्षण गरिएको छ । जसमा एक जनालाई डेंगुको संक्रमण देखिएको छ । यसैगरी १० जनाको कोरोना भाइरस परीक्षण गरियो । जसमा भने सबैजनाको नेगेटिभ रिपोर्ट आएको कुमारले बताए । साथै, कारागारमा रहेका अधिकांश कैदीलाई ‘एन्जाइटी’ भएको पाइएको उनको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकम प्रसाद श्रेष्ठ र अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले झुम्का कारागारमा रहेका कैदीहरूको स्वास्थ्य जाँच गर्नका लागि मेडिसिन विभागबाट दुई जना, इमर्जेन्सी मेडिसिन तथा जेनेरल प्राक्टिस विभागबाट दुई जना, एनेस्थसियोलोजी विभागबाट एक जना चिकित्सकका साथै दुई जना स्टाफ नर्स तथा दुई जना ल्याव प्राविधिक गरी नौ जनाको टोली खटाउन निर्देशन दिएका थिए ।
‘पूर्वव्यापी तथ्यांक नियाल्दा यस्ता समस्याले सो कारागारका अहिलेसम्ममा तीन जना बिरामीहरूको निधन भएको पाइएको छ,’ डा. कुमारले भने । प्रतिष्ठानले ‘सेप्टिक शक मल्टिपल अर्गन डिसफङ्सन सिन्ड्रोम’मा राखेर डायलाइसिस गर्दा पनि ज्यान बचाउन नसकिएको जनाएको छ । खासगरी गम्भीर रोगका कारण शरीरका धेरै अङ्गहरू (मुटु, फोक्सो, मिर्गौला, कलेजो)ले राम्ररी काम गर्न छोड्ने अवस्थामा यो प्रविधिको प्रयोग गरिन्छ।
प्रतिष्ठानको मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. रविन मास्केले विगत एक महिनायता भाइरल इन्फेक्सनमा वृद्धि भएको बताए । ‘कारागारमा पनि यही समस्या भएको र भाइरलकै कारण अहिले धेरै कैदी बिरामी भएको देखियो,’ उनले भने, ‘भाइरलबाट बच्न सर्वसाधारणले आवश्यक सावधानी अपनाउनुपर्छ ।’
साथै उक्त समस्या वृद्धि भएको अपस्थामा प्रतिष्ठानले पूर्व तयारीसमेत गरिरहेको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनको विपद् उद्धार टोलीले पनि प्रतिष्ठानमा भर्ना भएका ती बिरामीहरुको जाँचको लागि नमुना संकलन गर्ने र झुम्का कारागारबाट पनि नमुना संकलन गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।
‘सुरु–सुरुमा स्वास्थ्य बिग्रिएजस्तो अनुभूति हुने र श्वासप्रश्वास बिग्रिने लक्षण देखियो,’ सुनसरी प्रहरीका एसपी सुमनकुमार तिम्सिनाले भने, ‘रातिसम्म स्वास्थ्य चेकजाँच गरी रगतको नमुना संकलन गरिएको थियो । धेरैजसोमा भाइरल संक्रमण रहेको चिकित्सकले जनाएका छन् ।’