चखेवा सडक खण्ड श्रमदानमार्फत मर्मत सुरु

मध्यपहाडी लोकमार्ग अन्तर्गत सेखुवा झगरपुर–चखेवा सडक खण्डमा श्रमदान जुटाएर मर्मत गरिदै ।

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सेखुवा झगरपुर–चखेवा सडक खण्डमा श्रमदान जुटाएर मर्मत गर्ने कार्य शुरू गरिएको छ । खोटाङको साकेला गाउँपालिकाको वडा नम्बर एकमा पर्ने करिब दश किलोमिटरको उक्त सडकलाई गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अगुवाईमा मर्मत कार्य सुरु गरिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको उक्त सडक खण्ड लामो समय बितिसक्दा पनि सडक मर्मतका लागि केन्द्र सरकारले चासो नदेखाउँदा दैनिक यात्रा गर्ने हजारौं यात्रु तथा सवारी साधनले सास्ती खेप्नुपरेको छ । केही समयदेखि लगातार परेको वर्षाका कारण उक्त सडक खण्डमा हिलाम्मे भएर सवारी साधन आवतजावतमा समस्या हुँदै आएको छ । उक्त सडक हुँदै पूर्वी जिल्ला तथा राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुहरूले सास्ती भोग्दै आएपछि पालिका आफैले श्रमदान जुटाएर मर्मत कार्य सुरू गरेको हो ।

पूर्वी नेपालका अन्य जिल्लाहरूको साथै राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण उक्त सडक खण्डको अवस्था खराव हुँदा दैनिक हजारौं यात्रुहरूले सास्ती खेप्दै आएका छन् । यात्रुहरूको सहजताका लागि गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा शुक्रबार पहिलो दिन निर्वाचित जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीयबासी सहित करिब ७० जनाको उपस्थितिमा श्रमदान मार्फत करिब एक किलोमिटर सडक मर्मत गरिएको छ । चाडबाड नजिकिँदै गर्दा यस सडक हुँदै यात्रा गर्ने यात्रुहरूलाई सहजता दिलाउन श्रमदान मार्फत सडक मर्मत सुरू गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

अध्यक्ष राईले अफ्ट्यारो सडकका कारण यात्रा गर्न असहज हुने स्थानहरूमा मर्मत गरी सवारी आवतजावतमा सहजता प्रदान गरिने बताए । स्थानीयहरूले स्वस्फूर्त रूपमा यस श्रमदान अभियानमा सहभागिता जनाएका छन् । सडक मर्मतका लागि गाउँपालिकाको तर्फबाट दुईवटा ट्र्याक्टर र मध्यपहाडी आयोजनाको दुई वटा जेसिबी र स्काभेटर मेसिन परिचालन गरिएको छ ।

साकेला गाउँपालिकाले वर्षाका कारण बिग्रिएर यातायातका साधन आवतजावतमा समस्या हुँदै आएको पालिकाभित्रका मुख्य तथा सहायक सडकहरू निरन्तर मर्मत र सरसफाई गरी आवगमनलाई सहजता प्रदान गर्दै आइरहेको छ । त्यसका लागि गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवा मार्फत जनशक्ति र साधन जुटाएर सडक मर्मतको कार्य गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

२६ भाद्र २०८२