भोजपुर । ओडारे–भण्डारे पक्की सिंचाई कुलो निर्माण सम्पन्नभएपछि भोजपुर नगरपालिका ६ भंगेरीबासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौदेखी पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो ।
यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्विस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे– भण्डारे सिंचाई कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिंचाई कुलो निर्माण सम्पन्न गरिएको उनको भनाइ छ ।
‘यहाँका किसानलाई सिंचाई कुलो नहुँदा धेरै नै समस्या थियो’वडाध्यक्ष कार्कीले भने,‘हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।’
यो कुलोले हिउँदे र बर्खे गरीे तत्काललाई करिव ५० देखी ६० घरपरिवारको पाँच सय रोपनी क्षेत्रलाई सिंचाई सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताए । यहाँ धेरै उर्वरभूमी रहेकोले सिंचाई कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उनको भनाइ छ ।
सिंचाई कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयबासी रुद्र बहादुर कोइरालाले बताए । ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखीको सिंचाइको समस्या अन्त्य भएको उनको भनाइ छ । कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहज रुपमा समयमा खेती गर्ने अवस्था रहेको उनले जानकारी दिए ।
‘सिंचाई कुलो नहुँदाको समस्या भनेर साध्य छैन’उनले भने,‘खेतीको लागि आकाशे पानीको भर पर्नु पथ्र्यो । खेतको व्याड, विउ राख्न नै समस्या हुन्थ्यो । पानीको कारण दैनिक जसो छिमेकीसँग झगडा हुन्थ्यो । अहिले सिंचाई कुलो बनेपछि हामीलाई सहज भएको छ । समयमा खेती गर्न पाएका छौँ ।’
कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदेबाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताइन् । कुलो बनेपछि दश मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उनको भनाइ छ । वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएका उनको भनाइ छ ।






