कोरियाको पर्खाइ मलेसिया यात्रा

इलाम । घर बनाउँदा रिन लागेपछि इलाम नगरपालिका पाँच बरबोटेका कुवेर तिवारी विदेश जाने सोचमा भौतारीए । घर बनाउँदा लागेको रिनले च्यापेपछि विदेश जाने सोचमा भएका उनले सिप सिकेर कोरिया पठाउने भनेपछि उनी कोरियाको चक्करमा लागे ।

वर्षौ बित्यो न कोरिया पुगे, न पैसा फिर्ता

इलाममा कोरिया भाषा पढाउँदै आएका सुरेन्द्र राईले टुँडिखेल छेउमा खोलेको एसइई स्किल ट्रेनिङ सेन्टरमा गई सीप सिके पछि कोरिया जान पाइन्छ भनेर उनले पैसा बुझाए । इलाम नगरपालिका पाँचकै महेन्द्र खतिवडा पनि कोरिया गएर पैसा कमाउने चक्करमा कुवेर सँगै सिप सिक्न गए । उनले पनि कोरिया जाने भन्दै पैसा बुझाए ।

कोरिया गएर पैसा कमाउने चक्करमा २०७९ साल फागुन १७ गते ९१ हजार रुपैयाँ तिरेर सिप सिक्न थालेका कुवेरले जम्मा तीन लाख १५ रुपैयाँ बुझाई सकेका छन् । सुरुमा ९१ हजार तिरेका उनले स्किल टेस्ट गर्न काठमाडौँ जानु पर्ने भने पछि २४ हजार रुपैयाँ बुझाए । काठमाडौंबाट फर्किएपछि अब कोरिया जान पाँच लाख तिर्नुपर्ने भनेपछि अहिले पैसा छैन भन्दै २०८० साल पुस ८ गते दुई लाख रुपैयाँ बुझाए ।

अहिले सम्म कुवेर र महेन्द्रले तीन लाख १५ हजार रुपैयाँको दरले रकम बुझाई सकेका छन् । अहिले सम्म कोरिया जान नपाएपछि उनमा अब कोरिया जाने आस मरिसकेको छ र अहिले पैसा फिर्ता मागिरहेका छन् । तीन वर्ष बित्दा पनि कोरिया जान नपाए पछि अर्के देश जाने भनेर पैसा फिर्ता मागे पनि न कोरिया गए न पैसा फिर्ता नै पाए । कुवेरको मलेसियाको भिजा लागिसकेको छ । बुधबार मलेसियाको फ्लाईट रहेको उनी बताउछन् ।

कुवेर भन्छन्, ‘दुई रुपैयाँ ब्याजले काढेर पैसा बुझाएको थिए अहिले सम्म ब्याज तिरिरहेको छु अब मलेसियाको भिसा लागेको छ पटक पटक पैसा माग्दा दिन्छु भन्छन् तर अहिले सम्म दिँदैनन् ।’ ‘तीन लाख १५ हजार रुपैयाँ मध्ये ५० हजार रुपैयाँ पैसा फिर्ता पाए पनि बाँकी पैसाको लागी चेक दिएका छन् तर खातामा पैसा छैन’ उनी भन्छन्,‘ चेक नसाटिएपछि खातामा पैसा छैन भन्दा एक दुई दिन पर्खनु भन्दै टार्छन् अहिले त फोन नै नलाग्ने बनाएका छन् ।’ खतिवडाको पनि समस्या उही छ ।

उनीहरू मात्रै हैन इलामका सयौँ युवाले कोरिया जान भन्दै सुरेन्द्र राईलाई पैसा बुझाएका छन् । कोरियामा राम्रो कमाई हुने सपना बाँडेर तालिम दिए पनि कोरिया जान नपाएपछि सयौँ युवा टेक्ने न समाउने अवस्थामा पुगेका छन् । सीप सिकुन्जेलको खर्च, काठमाडौँमा करिब एक महिनाको बसाई लगायतमा अन्य रकम खर्च गरेर युवाहरूले काम सिके । न कोरिया जान पाए न त पैसा नै फिर्ता पाए ।

नगद बुझाए रकम, छैन प्रमाण
बिना प्रमाण, हातमा नगद रकम दिएर युवाहरूले तालिम लिए । तालिम पश्चात् स्किल टेस्ट भन्दै युवाहरूलाई काठमाडौँ लगियो । स्किल टेस्ट पास भएका युवालाई कोरिया भने पठाउन सकेनन् । सुरुमा इलामका सुरेन्द्र राईले युवालाई कोरिया पठाउने भन्दै सिप सिकेर जाँदा फिक्स जान सकिने आश्वासनमा रकम उठाए । काम छोडेर कोरियाको चक्करमा लागेका युवा अलमल्लमा परे ।

कोरिया कामदारको रूपमा पठाउने भन्दै ठगी गरेको पाइएपछि केही युवाहरूले जिल्ला प्रशासन कार्यालय प्रशासनमा उजुरी दिए । उजुरी पछि केही युवाको रकम फिर्ता भइसकेको छ । करिब चार सय युवाले सुरुमा रकम तिरेर काम सिकेका थिए । केही युवाको रकम फिर्ता भएको छ भने केहीको अझै भएको छैन । सरकारले भाषा पास नगरी कोरिया जान नपाइने भने पनि इलामबाट सोझै कोरिया पठाउने भन्दै पैसा उठाउँदै तालिम सञ्चालन गर्दा पनि प्रशासनले केही गर्न नसकेको पीडितहरूको गुनासो छ ।

तालिम सेन्टर अवैधानिक रूपमा सञ्चालन भएको र नियम विपरीत कोरिया लैजाने भन्दै जिल्ला प्रशासन कार्यालय छड्के चेक समेत गरेको थियो । कोरियामा कामदारको रूपमा पठाउने भन्दै आश्वासन दिएर ठगी गरिरहेको थाहा पाएपछि यस्तो भ्रममा नपर्न जिल्ला प्रशासन कार्यालय इलामले अनुरोधसमेत गरेको थियो ।

झापाको मुस्कान इन्जिनियरिङसँगको मिलेमतोमा गैर कानुनी रूपमा तालिम सञ्चालन गरिरहेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय इलामले पत्र समेत पठायो । पत्रपछि परिषद्ले मुस्कान इन्जिनियरिङलाई सोधेको स्पष्टीकरणमा आफूले कसैलाई पनि सहमति नदिएको भन्ने जवाफ आएपछि एसइई स्किल ट्रेनिङ सेन्टरलाई सिटिइभिटिइले अनुसन्धान पनि ग¥यो । तर अनुसन्धान अनुसन्धानमै सीमित बन्यो ।

यता जिल्ला प्रशासन कार्यालय इलामका नित्यानन्द घिमिरेले पटक पटक गरेर पीडित जिल्ला प्रशासन धाएको र रकम फिर्ता गर्न लगाएको बताएका छन् । पहिलो चरणमा करिब १८ जना, दोस्रो चरणमा १२ जनाले उजुरी दिएपछि रकम फिर्ता गर्न लगाएको उनको भनाई छ । पछि व्यक्तिगत रूपमा समेत रकम फिर्ता गराउन माग बढ्न थालेपछि राई आफैँले आफ्नोमा पठाउन आग्रह गरेको र पीडितलाई राई समक्ष नै पठाएको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

२६ भाद्र २०८२