पोखरा । ललितपुर क्विन्स र कर्णाली यशविशले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार तेस्रो जित निकालेका छन् । योसँगै उनीहरु फाइनल नजिक पुगेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबारको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।
ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् ।
तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको हो ।
यसैगरी, सोमबारको पहिलो खेलमा कर्णाली यशविशले काठमाडौं स्पाईकर्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र तेस्रो सेट २८–२६ ले जित निकाल्यो । कर्णालीकी आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।
यसअघि, कर्णालीले पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसँगै कर्णाली पनि ९ अंकका साथ शीर्षस्थानमै छ ।
३ खेलबाट २ अंक जोडेको लुम्बिनी र २ खेलबाटै १ अंक जोडेको पोखरा निन्जाज २ खेल बाँकी छँदै फाइनल होडबाट बाहिरिएका छन् ।
यस्तै, ३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय सम्भावना बाँकी राखेका छन् । दुवैले २–२ खेल खेल्न बाँकी छ ।
लिगअन्तर्गत मंगलबार पहिलो खेलमा कर्णाली र मधेश र दोस्रो खेलमा ललितपुर र पोखराबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
कुल ६ टिमले भाग लिएको प्रतियोगितामा शीर्ष दुई टोली फाइनल प्रतिस्पर्धा गर्ने छन् । फाइनल २८ भदौमा हुनेछ ।






