भोटेकोशी बाढीका मृतकको सम्झनामा बराहक्षेत्रमा १०८ दीप प्रज्वलन, सेतो परेवा उडाएर श्रद्धाञ्जली

सुन्दरहरैंचा (मोरङ) । कोही आफन्तको खोजीमा छन्, कोही शवको पर्खाइमा। कतिपय परिवारका प्रियजन कहिल्यै नफर्कने गरी अस्ताएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीले छाडेको यही अपार पीडाबीच पूर्वको पवित्र धार्मिक स्थल सुनसरीको बराहक्षेत्रस्थित कोशी संगममा १०८ दीप बलेका छन्।

बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको चीर शान्तिको कामना गर्दै कोकाहा (कोका) र सप्तकोशी नदीको पवित्र संगमस्थलमा मंगलबार साँझ १०८ दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनपश्चात् एक जोडी सेतो परेवा आकाशमा उडाएर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरियो।

बाढीपीडितका लागि राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ हिँडेका सामाजिक अभियन्ता नेत्रप्रसाद चम्लागाईँको नेतृत्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैंचाका उपसभापति उज्ज्वल बन्जरासहित १० जना युवाको टोलीले यो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो।

प्रभावित क्षेत्रसम्म पुग्ने बाटो पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि राहत टोली गन्तव्यमा पुग्न सकेको थिएन। तर, सडक बन्द भए पनि पीडितहरूसँग जोडिएको भावना नरोकिएको भन्दै युवाहरूले बराहक्षेत्र पुगेर कोशी किनारमा दीप बालेका हुन्।

‘सडकले रोक्यो, तर मनलाई रोक्न सकेन’
सामाजिक अभियन्ता नेत्रप्रसाद चम्लागाईँले बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य भए पनि सडक अवरुद्ध हुँदा बराहक्षेत्रमा श्रद्धाञ्जली कार्यक्रम गरिएको बताए। “हामी पीडितको घरदैलोमै पुगेर दुःखमा मल्हम लगाउन चाहन्थ्यौँ। बाटोले रोक्यो, तर मनलाई रोक्न सकेन,” भावुक हुँदै चम्लागाईँले भने, “त्यसैले कोशीको पवित्र संगममा १०८ दीप बालेर दिवंगत आत्माको शान्तिको प्रार्थना गर्‍यौँ। आज कसैको काख रित्तिएको छ, कसैको घर सुनसान छ। यस्तो विपत्तिमा हामीसँग सबैको आँसु पुछ्ने सामर्थ्य नहोला, तर दुःखमा साथ दिने मन अवश्य छ।”

‘मृतक संख्या मात्र होइनन्, एउटा सिङ्गो संसार हुन्’ रास्वपा सुन्दरहरैंचाका उपसभापति उज्ज्वल बन्जराले सेतो परेवा उडाउने क्षण अत्यन्तै भावुक बनेको स्मरण गरे। “समाचारमा आउने मृतक वा बेपत्ताको संख्या केवल अङ्क मात्र होइन, त्यो संख्याभित्र कसैको आमा, बुबा, जीवनसाथी र छोराछोरीको सिङ्गो संसार जोडिएको हुन्छ,” बन्जराले भने, “अहिले राहत सामग्री पीडितको हातसम्म पुर्‍याउन नसके पनि सडक सुचारु हुनेबित्तिकै हामी प्रभावित क्षेत्रमा पुग्नेछौँ। आज बालिएको दीपले हाम्रो संवेदना उहाँहरूसम्म पुर्‍याएको विश्वास छ।”

कोशी किनारमा शान्तिको प्रार्थना
साँझ ढल्किँदै जाँदा कोशीको किनार १०८ दीपको प्रकाशले जगमगाएको थियो। मौनधारणपछि युवाहरूले आकाशमा उडाएको परेवाको जोडी विस्तारै ओझेल पर्‍यो। नदी आफ्नै गतिमा बगिरहँदा किनारमा उभिएका युवाहरू बाढीले उजाडेका बस्ती र आफन्त गुमाएर रोइरहेका परिवारका लागि प्रार्थना गरिरहेका थिए। बराहक्षेत्रमा प्रज्वलित यी दीपहरूले एउटै सन्देश दिएका छन्—विपत्तिले भौतिक संरचना र जीवन खोस्न सक्छ, तर मानवीय संवेदना, श्रद्धा र आत्मिक सम्बन्धलाई कहिल्यै बगाउन सक्दैन।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव