पोखरामा सरकारी कार्यालय र व्यापारिक प्रतिष्ठान क्षणभरमै भग्नावेश

पोखरा । जेनजीको आन्दोलनमा मंगलबार पोखराका अधिकांश सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भयो । जसका कारण कतिपय सरकारी कार्यालय भग्नावेशषमा परिणत भएका छन् । महत्वपूर्ण कागजातहरु, फर्निचरहरु, विभिन्न संरचनाहरु जलेर खरानी भएका छन् । बुधबार बिहानसम्म पनि कतिपय कार्यालयमा धूँवा पुत्याइरहेको देखिन्थ्यो । सुन्दर र ऐतिहासिक भवनहरु यसरी जल्दा विद्रूप र कहकालीलाग्दो दृश्य छ ।

मंगलबार प्रदर्शनका क्रममा गरिएको तोडफोड र आगजनीले गण्डकी प्रदेशसभा भवनदेखि मुख्यमन्त्री मन्त्रालय, जिल्लाको प्रमुख प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा आगजनीले केही पनि बाँकी छैन । संघ, प्रदेश र जिल्लास्तरका अधिकांश सरकारी कार्यालयहरु जलेका हुन् ।

प्रदर्शनकारीले पोखराका मेयर धनराज आचार्यदेखि गण्डकीका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घरमा समेत आगजनी गरेका थिए । उनीहरुले गण्डकीका पूर्व मुख्यमन्त्रीहरु खगराज आचार्यको पोखरास्थित घर तथा कृष्णचन्द्र नेपाली पोखरेलको नवलपुरस्थित घर पनि बाँकी राखेनन् । गण्डकी प्रदेशका पूर्व सांसद एवं एमाले नेता राजीव पहारीको लेकसाइडको घरमा पनि आगजनी भयो । गण्डकीकै भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीको रामघाटस्थित घरमा आगजनी गरिएको छ ।

व्यवसायबाट राजनीतिमा प्रवेश गरेका मन्त्री विन्दुकुमार थापाका विभिन्न व्यवसाय छानीछानी ध्वस्त पारिएको छ । सबैभन्दा ठूलो क्षति उनको भएको छ । थापाको ७० करोड लगानी रहेको लेकसाइडको बगैँचा रिसोर्ट गत महिनामात्रै आरजू राणाले उद्घाटन गरेकी थिइन् । यसैगरी, शंशुभारा भवन, मन्त्र थकाली होटल, केटिएम ब्रान्डका सामान बिक्री हुने हल्लनचोकको पसल केही बाँकी छाडिएको छैन ।

त्यस्तै, थापाको नयाँबजारस्थित घर, उनका भाइ ध्रुव थापाको घर तथा अटो व्यवसायमा आगजनी गरेर अर्बौको क्षति पु¥याइएको छ । प्रदर्शनकारीले लेकसाइडकै होटल सरोवरमा पनि तोडफोड र आगो लगाएका थिए । प्राडा भरत पहारीको होटल सरोवर पोखरामै सबैभन्दा धेरै रुम हुने होटलमा पथ्र्यो । माओवादी अध्यक्ष प्रचण्डको समेत लगानी रहेको भन्दै बरपीपल रिसोर्टमा पनि तोडफोड, सवारीसाधन र एउटा भवनमा आगो लगाइदिएका थिए । पोखराको सिर्जनाचोकस्थित फलफूल तथा तरकारी मण्डीमा पनि आगो लगाएर ध्वस्त छ ।

उता, हल्लनचोकको गुडविल होटलमा पनि आगजनी गरेर पूर्णरुपमा क्षति गरिएको छ । पोखराका मेयर धनराज आचार्य भाइ शिवको नाममा रहेको पोखरा इभेन्ट सेन्टरमा पनि आगो लगाएर क्षति गरिएको छ ।

नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन, सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए । उनीहरुले प्रदेशसभा भवन परिसरकै गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनमा पनि आगजनी गरेका थिए ।

यसैगरी, प्रदर्शनकारीहरूले सहिदचोकस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास तोडफोड तथा आगजनी भएको छ । पोखरामा अधिकांश सरकारी कार्यालयहरु पोखराको सहिदचोकमा अवस्थित थिए । नजिक–नजिकको दूरीमा रहेको ती कार्यालयहरु क्षणभरमै ध्वस्त भएका हुन् ।

प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय, सोही कार्यालयसँगैको प्रदेश नीति तथा योजना आयोगको कार्यालय, गण्डकी प्रदेश प्रमुखको कार्यालय, पोखरा उपत्यका नगर विकास समिति, मालपोत कार्यालय, जिल्ला समन्वय समिति पनि तोडफोड र आगजनी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा आगलागीले नागरिककै महत्वपूर्ण कागजात जलेको छ । यतिसम्मकै खाली तथा प्रिन्टेड नागरिकताहरु, राष्ट्रिय परिचयपत्रहरु चौरमा असरल्ल छन् । राष्ट्रिय परिचयपत्र पनि असरल्ल देख्न सकिन्छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षदेखि प्रशासन कार्यालयका कुनै पनि कोठाहरु सग्ला छैनन् ।

प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेको कास्की जिल्ला अदालत, उच्च अदालत पोखरा, लोक सेवा आयोगको कार्यालयमा पनि महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।

प्रदर्शनकारीले वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, लगायतका मन्त्रालयहरु, नजिकैको आन्तरिक राजश्व कार्यालय, एमाले गण्डकी प्रदेश कार्यालय र एमालेकै कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए । चिप्लेढुंगास्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड गरिएको छ ।

आक्रोशित प्रदर्शनकारीले पोखरा महानगरपालिका मात्रै नभई महानगरका विभिन्न वडा कार्यालयहरु तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । पोखरा १, २, ३, ४, ५, ८, ११, १२, १५, १९ लगायत कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

न्यूरोडस्थित भाटभटेनीमा समेत आगजनी गरी ध्वस्त पारिएको छ । गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय, कारागारा कार्यालयमा पनि हिरासत तथा थुनामा रहेकालाई भगाएर आगजनी गरिएको छ । कास्की कारागारका ७ सय ७३ जना कैदीबन्दीलाई जेनजीहरुले भगाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा