पोखराका अधिकांश सरकारी कार्यालयमा आगजनी

जलेको संसद भवन । तस्बिर: विजय नेपाल

पोखरा । जेनजीको आन्दोलनका क्रममा मंगलबार पोखरामा संसद् भवन, मुख्यमन्त्री कार्यालयदेखि अधिकांश सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आगलागी गरिएका कार्यालयहरु जलेर ध्वस्त भएका छन् भने महत्वपूर्ण कागजात नष्ट भएका छन् ।

यसैगरी, प्रदर्शनकारीहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यदेखि गण्डकीका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घरमा समेत आगजनी गरे । बिहान करिब ९ बजेदेखि सुरु भएको आन्दोलनका कारण दिनभर पोखरा तनावग्रस्त रह्यो । सडकमा बालिएको टायर तथा कार्यालयहरु जलेर निस्केको मुस्लोका कारण साँझदेखि पोखराको आकाश कुहिरीमण्डल बनेको छ ।

जेनजी आन्दोलन चर्किँदै जाँदा पोखरा–३, नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका हुन् । उनीहरुले प्रदेशसभा भवन परिसरमै रहेको प्रदेश प्रशिक्षण कार्यालयमा पनि आगजनी गरे ।

यसैगरी, प्रदर्शनकारीहरूले पोखराको सहिदचोकस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवासमा तोडफोड तथा आगजनी गरे ।

जिल्ला तथा प्रदेशस्तरका अधिकांश सरकारी कार्यालयहरु पोखराको सहिदचोकमा छन् । नजिक नजिकको दूरीमा रहेको ती कार्यालयहरु क्षणभरमै ध्वस्त भएका हुन् ।

प्रदर्शनकारीहरुले सहिदचोकमै रहेको जिल्ला प्रशासन कार्यालय, सोही कार्यालयसँगै जोडिएको प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगजनी गरे ।

प्रदर्शनकारीहरुले कास्की जिल्ला अदालत, वन तथा वातावरण मन्त्रालय, एमाले गण्डकी प्रदेश कार्यालय र एमालेकै कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरे ।

बिहान पोखरा सभागृहमा जम्मा भएर न्यूरोडतिर लागेका प्रदर्शनकारीहरुले सबैभन्दा पहिला न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि आगो बालेर विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । प्रहरीले अश्रुग्याँस हान्नुका साथै हवाई फायर चलाएको थियो । यत्तिकैमा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन् । उनलाई उपचारार्थ अस्पताल लगिएको थियो ।

आक्रोशित प्रदर्शनकारीले पोखरा महानगरपालिका मात्रै नभई महानगरका विभिन्न वडा कार्यालयहरु तोडफोड गर्नुका साथै आगजनी गरे । न्यूरोडस्थित पोखरा वडा ८ को कार्यालय, मालेपाटनस्थित वडा ५ को कार्यालय, नदीपुरस्थित वडा ३ कार्यालयसमेत आगो लगाएका छन् ।

उनीहरुले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका होटलहरुमा समेत आक्रमण र आगजनी गरेका छन् । नेताका घर तथा निवास छानीछानी उनीहरुले आगजनी गरेका हुन् ।

यसैबीच, राति करिब ८ बजेतिर गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले डोजर चलाउने प्रयास गरेका छन् । २ वटा डोजर लिएर गएका उनीहरुलाई प्रहरीले अश्रु ग्याँस हानेर छेकिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

मुस्ताङको होटेलबाट जेनजी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ