नेपालगञ्ज । नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीहरु कारागार भित्र आगजनी गरी बाहिर निस्कन खोज्दा झडप भएको छ । बिहीबार दिउसो करिव ३ बजेतिर भएको सो झडमा परेर एकजनालाई गोली समेत लागेको छ ।
कारागारमा रहेका कैदी बन्दीहरु अगाडिको ढोका फोडेर बाहिर निस्कन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । त्यस क्रममा नेपालगञ्ज कारागारमा लागू औषध मुद्दामा थुनामा रहेका उमेश बमको बाँया खुट्टाको पिडुलामा गोली लागेको हो ।
उनको भेरी अस्पतालमा उपचार भई रहेको छ । कारागार भित्र आगजनी गरी भाग्न खोज्दा नेपाली सेनाले स्थितिलाई नियन्त्रणमा लिनका लागि चलाएको कारागार निकट स्रोतले जनाएको छ । २ सय ५० क्षमताको कारागारमा १ महिला समेत गरी ७ सय ७० कैदी बन्दी रहेका छन् । समारचार तयार पार्दासम्म स्थिति नियन्त्रणमा रहेको छ ।
कारागारबाट कैदी बन्दी निस्कन खोजे पछि ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको थियो । कैदी बन्दीले गरेको आगजनी नेपालगञ्ज उपमहानगरको दमकल प्रयोग गरी निभाईएको थियो ।
सम्बन्धित समाचार







