छायांकनमा फर्किए चलचित्रकर्मी

काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलन मत्थर भएसँगै जनजीवन सामान्य हुन थालेको छ । यो सँगै नेपाली चलचित्रकर्मीहरू छायांकनमा फर्किएका छन् । आन्दोलनका कारण रोकिएका आधा दर्जन चलचित्र मध्य धेरै जसो चलचित्रको छायांकन पुन सुरु भएको छ ।

नयाँ नेपाली चलचित्र ‘परालको आगो’को छायांकन सोमबारबाट सुरु हुने भएको छ । यो चलचित्रको छायांकनको लागि प्राविधिक टिम आइतबार बिहानै म्याग्दी तर्फ लागेका छन् । केही कलाकार यस अघि नै त्यहाँ पुगेका थिए भने बाँकी कलाकार पनि म्याग्दी गएका छन् । २६ भदौ बिहीबारबाट छायांकन सुरु गर्ने भनिएको यो चलचित्रको छायांकन ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण सो मितिमा सुरु हुन सकेको थिएन । अहिले अवस्था सामान्य हुँदै गएकाले आफूहरू चलचित्रको छायांकनमा उत्रन लागेको यसका निर्देशक लक्ष्मणले बताएका छन् । चलचित्र ‘परालको आगो’मा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुल दीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने लगायतको अभिनय रहनेछ ।

कास्कीमा छायांकन भईरहेको चलचित्र ‘पोखरेली मसिनो’को छायांकन आन्दोलनका कारण दुई दिन प्रभावित भएको थियो । यो चलचित्रको छायांकन बिहीबारबाटै पुन ः सुरु भए पनि शुक्रवारबाट छायांकनले गति लिएको यसका निर्देशक, छायांकार शैलेन्द्र ध्वज कार्कीले बताए । यो चलचित्रलाई शैलेन्द्र र उनको पत्नी शान्ति गिरीले निर्देशन गरिरहेका छन् । चलचित्र ‘पोखरेली मसिनो’को कास्कीको घाचोकमा छायांकन भइरहेको छ । शनिवारबाट कफ्र्यू हटेपछि पोखराको अवस्था पनि सामान्य भएकाले आफूहरू अब बाँकी छायांकनको लागि पोखरा फर्कने पनि निर्देशक शैलेन्द्रले राजधानीलाई बताए । करिब ६० प्रतिशत छायांकन सकिएको यो चलचित्रमा प्रवीण खतिवडा, परीक्षा लिम्बु, टिका पहाडी, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

‘जेनजी’को आन्दोलनका कारण तीन दिनसम्म चलचित्र ‘काजी’को पनि छायांकन प्रभावित भएको थियो । यो चलचित्रको शुक्रवारबाटै छायांकन सुचारु भइसकेको यसका निर्देशक लक्ष्मण रिजालले जानकारी गराएका छन् । स्याङजामा यो चलचित्रको छायांकनको लागि विशेष सेट निर्माण गरिएको छ । सोही सेटमा चलचित्रको छायांकन अघि बढेको पनि निर्देशक लक्ष्मणले बताएका छन् । रामप्रसाद रिजालद्धारा निर्मित यो चलचित्रको ७ भदौबाट छायांकन सुरु भएको थियो । यस चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मालगायतको मुख्य भूमिका रहेको छ ।

मोफसलसँगै काठमाडौँमा पनि रोकिएको चलचित्रको छायांकन सुरु भएको छ । यस्तै छायांकन सुरु भएको एक सातामै रोकिएको नेपाली चलचित्र ‘गोबर गणेश’ टिम पनि छायांकनमा उत्रिएको छ । यो चलचित्रको आइतबार काठमाडौँको म्हैपीमा छायांकन भयो । अझै सोही क्षेत्रमा केही दिन छायांकन जारी रहने यसका निर्देशक मरीचमान श्रेष्ठ (बल्छी धुर्बे)ले बताएका छन् । यो चलचित्रको छायांकन पनि ‘जेनजी’ आन्दोलनका कारण मंगलबारबाट रोकिएको थियो । यो चलचित्रमा कलाकार वर्षा सिवाकोटी, मरीचमान श्रेष्ठ (बल्छी धुर्बे), बिनोद न्यौपाने, सितादेवी तिमल्सिना, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, माओत्से गुरुङ, पुजन घिमिरेलगायत छन् ।

मंगलबारबाट रोकिएको आफ्नो चलचित्र ‘३६को आँकडा’को छायांकन शनिवारबाट सुरु गरेको यसका निर्देशक सबिर श्रेष्ठले राजधानीलाई बताए । काठमाडौँको बालाजु ल्याबमा सेट बनाएर यो चलचित्रको छायांकन हुँदै आएको थियो । सो सेटको छायांकन आइतबार सम्पन्न गरेकाले अब अर्को लोकेसनमा आफूले सोमबारबाट छायांकन सुरु गर्ने पनि निर्देशक सबिरले बताए । यो चलचित्रलाई आगामी दसैँसम्म छायांकन सक्ने लक्ष्य रहेको पनि उनले जानकारी गराए । चलचित्र ‘३६ को आँकडा’मा निरुता सिंह, रेखा थापा, पुष्प खडका, पूजा शर्मा, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक दिनेश राउत पनि आइतबारबाट छायांकनमा फर्किएका छन् । उनको निर्देशनमा नयाँ चलचित्र ‘कुमारी’को काठमाडौँमा छायांकन सुरु गरिएको छ । यो प्रेम कथामा आधारित चलचित्र हो । छायांकन सुरु गरेको एक सातामै गत मंगलबारबाट यो चलचित्रको पनि छायांकन रोकिएको थियो । यस चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांषा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारजस्ता कलाकारहरूको मुख्य भूमिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्लभ एकसिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’