कोशी आसपासका क्षेत्रमा संचालनमा रहेका सबै ३७ वटा होटल लकडाउनका कारण विगत २ महिना देखि बन्द रहँदा अहिले सबै संचालक संकटमा परेका छन्
सप्तरी राजविराज । नेपाल तथा भारतका बासिन्दाहरुको आर्कषणको केन्द्र मानिने सप्तरीको कोशी ब्यारेज तथा यस आसपासको क्षेत्र लकडाउनका कारण यतिबेला सुनसान बनेको छ । कोशी ब्यारेजको दृश्यावलोकन, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र घुमफिर, बरमझियाको पेडा र कोशीका माछा यहाँ आउनेहरुका लागि आर्कषणका केन्द्र मानिएका थिए ।
तर दुई महिना देखिको नाकाबन्दीले सर्वसाधारणको आगमन रोकिएपछि त्यस क्षेत्रको अवस्था अहिले उजाड़ बनेको हो । कोशी ब्यारेजमा आउनेहरुले होटलमा कोशीको माछा खाने अनि घरका लागि समेत किनेर लैजाने गर्दा उक्त क्षेत्र माछाका लागि निकै प्रसिद्ध रहेको थियो । तर बाहिरबाट मान्छे आउने क्रम रोकिएपछि आफ्नो पेशा धरापमा परेको स्थानिय बुनु मुखियाले सुनाए । सोही कारणले डेढ महिनादेखि माछा मार्न प्रयोग गर्ने गरेको डुगाहरु नदी किनारमै थन्काउनु परेको उनले सुनाए ।
कोशी ब्यारेज आसपासका करिब ३ दर्जन होटल समेत अहिले बन्द हुँदा आफूहरुको पेशा पनि संकटमा परेको स्थानीय होटल व्यवसायी कुमार शर्माले सुनाए ।
उनका अनुसार कोशी आसपासका क्षेत्रमा संचालनमा रहेका सबै ३७ वटा होटल लकडाउनका कारण विगत २ महिना देखि बन्द रहँदा अहिले सबै संचालक संकटमा परेका छन् ।
डुंगा काेशी किनारमा, माछा मार्ने बेराेजगार

कोशीमा माछा मारेर त्यस क्षेत्रका करिब ७५ परिवारले गुजारा चलाउँदै आएकोमा अहिले ती सबै परिवार पनि रोजागर विहिन बनेका छन् । लामो समय देखि कोशीको माछा मारेर होटल तथा कोशी ब्यारेज घुम्न आउने पर्यटकहरुलाई बिक्री गर्दै आएका हनुमाननगर कंकालिनी नगरपालिका १४ की रविना खातुनले लकडाउन लम्बिदै जाँदा हातमुख जोड्ने समस्या उत्पन्न भएको पीडा सुनाइन् । ‘लकडाउनले होटलहरु पनि बन्द छन्, बाहिरबाट पर्यटकहरु पनि आउँदैनन्’ उनले भनिन्– कसरी परिवार पाल्ने ? उनीसँगै माछा व्यवसायमा लागेका अन्य परिवारको अवस्था पनि उस्तै उस्तै छ ।
यसै गरी पेडाका लागि प्रसिद्ध बरमझियामा रहेका करिब ४ दर्जन पेडाका पसल समेत यति बेला बन्दाबन्दीका कारण सुनसान बनेका छन् । लगातारको बन्दले आफूहरुको पेशा र व्यवसाय नै संकटमा परी दैनिक जिवनयापन कठिन र कष्टकर बन्दै गएको भन्दै उनीहरुले सरकारसँग आवश्यक सहयोगको माग गरेका छन् । दैनिक माछा मारेर तथा सानो तिनो पसल संचालनमा ल्याएर परिवार पाल्दै आएकाहरु २ महिना लामो लकडाउनका कारण रोजगार विहिन भई हातमुख जोड्ने समस्यामा परेकाले यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।






