काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ यो शुक्रवार रिलिज हुन सकेन् । २०८० सालको सर्वाधिक सफल चलचित्र ‘जारी’को सफलतापछि सिक्वेलको रूपमा यो चलचित्र निर्माण गरिएको हो ।
३ असोज संविधान दिवसको अवसर पारेर यो चलचित्र रिलिजको तयारी हुँदै थियो । मुलुकमा ‘जेनजी’ पुस्ताको आन्दोलन चर्केपछि यसका निर्देशक उपेन्द्र सुब्बाले आफ्नो चलचित्रको रिलिज स्थगित गरेका थिए ।
यसै बिच निर्देशक उपेन्द्रले एक विज्ञप्ति जारी गर्दै ‘जारी २ ः सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको बताएका छन् । अब यो चलचित्र भाइटिकाको अवसर परेर आगामी ६ कार्तिकमा रिलिज गर्ने बताएका छन् । सो मितिमा अन्य चलचित्र रिलिज हुने भए पनि यो वर्ष राम्रो तिथि नभएकाले तिहारको भाइटिकामै रिलिज गर्नु पर्ने बाध्यता आएको पनि उनले बताएका छन् । यो चलचित्रलाई उपेन्द्र आफैँले लेखेका हुन् ।
चलचित्रको नयाँ रिलिज मिति घोषणासँगै ‘जारी २ ः सङ अफ च्याब्रुङ’ नयाँ दुई वटा पोस्टर पनि सार्वजनिक गरिएको छ । यो चलचित्रमा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको मुख्य भूमिका रहेको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ रहेका छन् ।






