धनगढी । कैलालीको धनगढीमा थोक मूल्यमै आम उपभोक्ताले फूल पाउने भएका छन् । धनगढीका करिब १७ जना किसानले उत्पादन गरेको सयपत्रीलगायतका फूल सुपथ मूल्यमा उपलब्ध छन् ।
धनगढी उपमहानगरपालिका परिसरमा राखिएको छ । धनगढी उपहानगरपालिकाले फूल बिक्री केन्द्र चलाउन किसानहरूलाई निःशुल्क भवन उपलब्ध गराएको छ । उक्त भवनमा उपमहानगरपालिका र प्रदेशको कृषि विकास निर्देशनालयको आर्थिक सहयोगमा कोल्ड च्याम्बर समेत बनाइएको छ ।
धनगढी उपमहानगपालिका क्षेत्रभित्र पुष्प व्यवसाय गर्ने करिब १७ जना किसानले उत्पादन गरेको फूल बिक्री केन्द्रमा राखिने केन्द्रका सञ्चालक पुष्कर बिष्टले बताए । फूल बिक्री केन्द्रमा प्रति किलोग्राम ३५० रुपैयाँका दरले सयपत्री बिक्री भइरहेको उनले बताए । ’हामीलाई धनगढी उपमहानगरपालिकाले सुरूमा फूल उत्पादन गर्ने तालिम दियो । त्यसपछि सजावट सम्बन्धी तालिम दियो भने भर्खरै कट फ्लावर उत्पादन सम्बन्धी तालिक दिएको छ । किसानले उत्पादन गरेको फूल पालैपालो बिक्री केन्द्रमा ल्याउने गरेका छौँ,’ उनले भने, ’माला ८० रुपैयाँमा बिक्री भइरहेको छ भने ३५० रूपैयाँ प्रति किलोग्रामका दरले सयपत्री फूल बिक्री भइरहेको छ ।’
दसैं र तिहारमा मात्रै नभएर १२ महिना नै धनगढीको फूल बिक्री केन्द्रमा उपभोक्ताले खोजेको फूल, माला तथा बुके पाइने गरेको सञ्चालक बिष्टले बताए । उनले वरमाला, दुबोको माला, गुलाफ लगयातका फूल समेत उपलब्ध रहेको बताए । फूल बिक्री केन्द्रमा विवाहको गाडी सजाउनेदेखि मण्डप र विभिन्न कार्यक्रमका मञ्च सजाउने सेवासमेत दिने गरेको बिष्टले बताए ।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९-८० मै प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको हो । जसका कारण प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लागेपछि स्थानीय किसानको फूलले बजार पाउन सहज भएको तीन वर्षदेखि धनगढी–६ मटियारीमा फूल खेतीसमेत गर्दै आएका पुष्कर बिष्टले बताए ।
सम्बन्धित समाचार







