काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरुलाई नियम, कानून, मूल्य मान्यता र अनुशासन पालना गर्न अबुधाबीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधै मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ट रही आफु बसोबास गर्दै आएको मुलुकको युएईको नियम, कानून, मूल्य मान्यता र अनुशासन पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको हो।
विगत केही समयदेखि युएईमा रहेका कतिपय नेपालीहरु मादक पदार्थको सेवन तथा झैझगडा, वैकिङ्ग कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागू औषध ओसारपसार, इमिरेट्स आइडीको दूरुपयोग, साइबर अपराध , अध्यागमन नियमको र ट्राफिक नियमको उलङ्घन, फ्रीलान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरुमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो संख्या बढ्दै गईरहेको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध अरेको छ।
माथि उल्लेखित सबै विषयहरु युएईको कानून तथा नियम अनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरुमा सचेत हुन तथा बिशेष सावधानी अपनाउन दूतावासले त्यहाँ कार्यरत नेपाली समुदायमा अपिल गरेको छ।
संयुक्त अरब इमिरेट्समा के गर्ने के नगर्ने
युएईमा रहँदा यहाँको ऐन, कानून, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्ने, कानूनले निषेध गरेका कुनै पनि कार्यहरु नगर्ने । मादक पदार्थ सेवन गरी झैझगडा नगर्ने । कुनै पनि व्यक्तिले दिएको सरसामग्री चेकजाँच नगरी नबुझ्ने । ट्राफिक नियमको सधैं पालना गर्ने । जेव्रा क्रसिङबाट मात्र बाटो काट्ने र ट्राफिक सिग्नलको सधै पालना गर्ने। इमिरेट्स आइडी सधै साथमा लिएर हिड्ने । सधैं शिष्ट, मर्यादित र अनुशासित व्यवहार पालना गर्ने ।
कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने । कसैको लोभ लालच र मुलाहिजामा नफस्ने । साथै आफ्नो राहदानी (Passport), ईमिरेट्स परिचय पत्र (इमिरेट्स आइडी) र फोनको सीम कार्ड कसैलाई पनि नदिने र इमिरेट्स आइडी बुझाई कुनै किसिमको बैकिङ्ग ऋण नलिने ।
फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालहरुमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने र यहाँका निकायहरुमा अनावश्यक इमेल नगर्ने । आफ्नो देशको चाडपर्व, धर्म संस्कृति सामुहिक रुपमा आयोजना गर्दा तोकिएको स्थानमा युएईको सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिएर स्थानीय कानूनको मापदण्डभित्र रही अनुशासित तवरमा मात्र आयोजना गर्ने ।
नेपाली समुदायबीच ऐक्यवद्धता कायम गर्न सबै संघसंस्था र समाजहरुबीच पारस्परिक सम्बन्ध र भातृत्व कायम गर्न पनि दूतावास अनुरोध गरेको छ। युएईमा विभिन्न पेशामा गरी करिव ६ लाखको हाराहारीमा नेपाली कामदार रहेको पाइन्छ।