पोखरा । पोखरामा शनिबार आयोजित दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित ८ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेट, भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । उनीहरूले जनही १५ हजार प्राप्त गरे । पोखरा २२ वडास्तरतर्फ कुशल परियार प्रथम र सुज्जल परियार दोस्रो भए । महिलातर्फ पदमकुमारी सुनुवार प्रथम हुँदा नीतु तामाङ दोस्रो भइन् ।
यू–१६ मा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार दोस्रो भए । प्रथम र दोस्राले जनही १५ हजार, सात हजार पाए । प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो । गत वर्ष पोखरा म्याराथन पनि दौडिएका लीलबहादुर भारतीय भूपू आर्मीका सुबेदार हुन् । पाल्पा रिब्दिकोटका आरोन गण्डकी बोर्डिङमा कक्षा ७ पढ्छन् ।
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशको प्रतिनिधित्व थियो । जसमा ११७ धावक सहभागी भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । विश्व पर्यटन दिवस अवसरमा भएको प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
विश्व शान्ति स्तुपमा भएको उद्घाटन समारोहमा दौडको सुरुआत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछनेले गरेका थिए । समापनमा विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा प्रर्वद्धन विशिष्ट सम्मान गरियो ।