लमजुङ । जनै पूर्णिमाको दिनमा दूधपोखरी कुण्डमा डेढ महिना अघि नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला परेको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका– ४, भुजुङ गाउँका १८ वर्षीय मनोज गुरुङ दूधपोखरीमा पौडी खेल्ने क्रममा हराएका उनको शव हेलिकप्टरमार्फत गोताखोरसहित उद्दारका लागि घट्ना स्थलमा पुगेको सशस्त्र प्रहरी टोलीले आइतबार फेला पारेको हो ।
५,३०० मिटरको उचाईमा रहेको दूधपोखरी कुण्ड लमजुङ र मनाङको सीमा क्षेत्रमा लमजुङतर्फ पर्छ । गुरुङ गत साउन २४ गते हराएको मृतकका परिवार स्रोतको हवाला दिदै प्रहरीले जनाएको छ । सो दुधपोखरी कुण्ड लमजुङको मस्र्याङदी गाउँपालिका– ३ मा पर्दछ । वेपत्ता किशोरको उद्धारका लागि पछिल्लो पटक अं. सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हे.का .कालिका कास्कीबाट ४ जनाको गोताखोर टोली र मृतकका दाइलाई एयर डाईनेष्टि हे.क.द्वारा पठाई खोजतलास गर्ने क्रममा पोखरीमा निज मृतकको लाश सडेगलेको अवस्थामा फेला पारेको हो ।
क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङको अनुरोधमा गाउँपालिकाले व्यवस्थापन गरी पोखराबाट एयर डाइनेस्टीको हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी टोली तीन दिन अघि अर्थात शुक्रबार उद्धारका लागि पठाइएको थियो । सो टोलीले पोखरीबाट उद्धार गरेको किशोर गुरुङको शवलाई मृतकका सहोदर दाइ रेकबहादुर गुरुङले सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरेर उक्त ठाउँबाट केही पर गुरुङ संस्कार संस्कृति अनुसार अन्तिम संस्कार गरिएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।
उनका अनुसार सो घटना’bout जानकारी पाएपछि यसअघि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकसहित ५ जना गरी ९ जनाको टोली अन्य ४ जना सहयोगीहरूलाई घटना स्थालमा पठाएर ती किशोरलाई खोज्ने काम गरिएको थियो । उनले भने, ‘त्यो टोलीले हराएका किशोरको स्थिति पत्ता लाउन नसकेपछि एक सातामा सो टोली फर्किएको थियो ।’
गोताखोरसहित पुगेको टोली हेलिकोप्टरमार्फत शनिबारै पोखरा फर्किएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको व्यवस्थापनमा अघिल्लो दिन हेलिकोप्टर पठाएर फर्किएपछि पुनः शनिबार हेलिकप्टर पठाइएको थियो । उनले भने, ‘जिल्ला सुरक्षा समितिको बैठकमार्फत शव खोजीका लागि गोताखोरसहित हेलिकप्टरमा सशस्त्र प्रहरी पठाउने र यसको व्यवस्थापन क्व्होलासोथार गाउँपालिकाले गर्ने निर्णय ग¥यौं । शव फेला परेपछि उद्दार गरेर ल्याउन कठिन भएकाले उक्त ठाउँमै कानुनी प्रक्रिया पु¥याएर गाढेका छौं ।’
हराएका किशोरलाई स्थानीय र प्रहरी पुगेर खोजी प्रयास गरे पनि यसअघि उनी भेटिएका थिएनन् ।
दूधपोखरी कुण्डमा उनीसहित ९ जना साथीहरू दूधपोखरी नुहाउने जात्रामा गएका थिए । मृतक किशोरको गाउँदेखि २ दिनको पैदल यात्राबाट पुगिने दूधपोखरी कुण्डमा नुहाउने जात्रामा साथीहरूसँगै गएका उनी पौडी खेल्ने क्रममा केही पर पुगेपछि वेपत्ता भएको उनीसँग गएका साथीहरूले बताएका थिए ।