इलाम । इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता भएको थियो । स्थानीय खोलाले बगाएको करिब चार सय मिटर तल मङ्गलबार उनको शव फेला परेको छ । इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।
इलाम नगरपालिका ६ का महेन्द्र लिम्बू अझै बेपत्ता छन् । जिल्लाका सबै ठाउँमा सडक अवरुद्ध छ । जिल्लाका दुरदराजमा गर्भवती र बिरामीको बिचल्ली भएको छ ।
बिचल्ली भएकालाई लिन गएको नेपाली सेनाको हेलिकोप्टर समेत अवतरण गर्न सकेको छैन । प्रतिकुल मौसमका कारण उद्धारमा कठिनाई भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएको छ । स्थानीय पालिकाले सडक खुलाउनका लागि सबै ठाउँमा काम गरिरहेका छन् ।
सम्बन्धित समाचार







