राजविराज । चार पटक शिलान्यास तथा निर्माण कार्य सकिएपछी १ सय २३ दिन अघि उद्घाटन गरिएर पनि संचालनमा आउन नसकेको राजविराज बस पार्क शनिबार देखी बल्ल संचालनमा आएको छ ।
सहरी विकास मन्त्रालयद्वारा राजविराज २ मा करोडौंको लगानीमा सुविधा सम्पन्न बस पार्क निर्माण कार्य समपन्न भएपछी एक भब्य समारोहबीच गत जेठ १५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे पनि हालसम्म संचालनमा आउन सकेको थिएन् ।
बस पार्कसम्म पुग्ने बाटोहरु जीर्ण भएको भन्दै यातायात व्यवसायीहरु त्यहाबाट सवाराी साधान चलाउन मानेका थिएनन् । जसकारण सार्वजनिक सवारीसाधन बजार क्षेत्रको सडक किनारमै पार्किङ र संचालन हुँदा ट्राफिक झमेला बढेको थियो ।
बजार क्षेत्रको मुख्य सडकबाटै सवारी साधन संचालन हुँदा दुर्घटनाको जोखिम समेत बढाएको भन्दै जेन्जी समूहका यूवाहरुले बस पार्क संचालनका लागि नगरपालिका र स्थानीय प्रशासनमाथी दवाब बढाउँदै लगेपछी शुक्रबार र शनिबार लगातार दुई दिन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरिक्षक गौतमकुमार केसी, कार्यवाहक नगर प्रमुख इसरत परविन, यातायात व्यवसायी र जेन्जी यूवा समूहका प्रतिनिधिहरुको संयुक्त बैठकले सहमति गरेपछी शनिबारदेखी उक्त बसपार्कबाट सवारीसाधनहरु संचालनमा आएको हो ।
बस पार्क संचालन कार्यविधी तथा बस पार्कसम्म पुग्ने रुटहरु समेत निर्धारण गरिएपछी त्यहाबाट सवारीसाधन संचालन सहज भएको हो । बसपार्कबाट सवारीसाधन संचालनमा आएपछी खुशी व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बजार क्षेत्रमा जताभावी पार्किङ गर्ने सिटि रिक्साहरुलाई पनि अब यसैगरि सहमतिमा ल्याई व्यवस्थापनमा ल्याउने आवश्यकता औल्याए ।
यता लामो समयको प्रतिक्षा पश्चात् बसपार्क संचालनमा आएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् ।