ओली निरन्तरता अनुमोदन गर्न एमाले बैठक

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार (आज)बाट बस्ने तय भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा आजबाट सुरु हुने बैठक तीन दिनसम्म चल्ने एमालेका नेताहरूले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले केन्द्र्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक कमिटी बनाएको र कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणको घोषणा गरेको सन्दर्भमा एमाले बैठकलाई चासोका साथ हेरिएको छ ।

विघटित प्रतिनिधिसभाका दुई ठूला दल माओवादी केन्द्र र कांग्रेसले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसँगै पार्टीको पुनःसंरचनाका विषयमा बहस केन्द्रित गरे पनि एमाले सचिवालयको बहस मतसंख्या भने अहिले पनि अध्यक्षमा ओलीकै निरन्तरताको पक्षमा छ ।

एमाले सचिवालय बैठकबाट बहुमतका साथ अध्यक्षमा ओलीको विकल्प नभएको निष्कर्ष निकालेलगत्तै केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आगामी मंसिर अन्तिम सातामा प्रस्ताव गरिएको महाधिवेशनसहित सुशीला कार्की नेतृत्व सरकारको वैधानिक र राजनीतिक जगका विषयमा छलफल हुनेछ ।

बैठकमा ओलीले सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको गौतमले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार भइनसकेकाले निष्पक्ष निर्वाचन हुनसक्छ कि सक्दैन भन्ने विषयमा छलफल हुनेछ । एमालेले संसद् पुनःस्थापनाको राजनीतिक एजेन्डा र निर्वाचनको उपभोग दुवैलाई समानान्तरण रणनीतिका रूपमा उपयोग गर्नेगरी बैठकबाट म्यान्डेड अनुमोदनको तयारी गरेको नेताहरूको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा