काठमाडौं । गत भदौमा बेलायतमा आफ्नो सांगीतिक कन्सर्ट गरेर नेपाल फर्केका गायक तथा मोडल दुर्गेश थापा सांगीतिक कन्सर्टकै लागि अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाका विभिन्न ११ सहरमा आयोजना हुने कन्सर्टमा आफूले गीत प्रस्तुत गर्ने उनले बताएका छन् । मंगलबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा उनले सञ्चारकर्मीलाई आफ्नो कन्सर्टको ’boutमा जानकारी गराए ।
तिहारको शुभ अवसर पारेर दुर्गेशको पहिलो सांगीतिक कार्यक्रम यही शुक्रवार अस्टिन, टेक्सासबाट सुरु हुने छ । त्यसपछि यो कन्सर्ट बाँकी १० वटा सहरमा प्रस्तुति दिने उनले बताए । यसै क्रममा २२ नोभेम्बरमा डल्लास, टेक्सासमा पुगेर यो कन्सर्ट सकिनेछ । त्यो बिचमा आफूले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, कोल राडो जस्ता विभिन्न स्थानमा ११ वटा स्टेज प्रस्तुति दिने उनले बताएका छन् ।
यो टुर आरएनआर ग्रुप एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (अशिष भडेल) द्वारा आयोजना गरिएको हो । यसमा पिस एन्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।
आयोजक मध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलो पटक अमेरिकामा रहेका नेपालीहरू माझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन् । उनका अनुसार गायिका मेलिना राईले भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै सहकार्य गर्ने छिन् । बाँकी कन्सर्टमा दुर्गेशलाई स्थानीय कलाकारले सघाउने छन् ।






