विद्याको सदस्यता खुल्ला गरेर मार्ग प्रशस्त गर्न ओलीलाई एमाले बैठकको सुझाव

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बिहीबार सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु । तस्बिर: चन्द्रकला क्षेत्री / रासस

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न दबाब बढेको छ । बैठकमा बोल्ने बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले खुलेर आफ्ना कुरा राख्दै यस्तो दबाब सिर्जना गरेका हुन् । उनीहरुले अध्यक्ष केपी ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न सुझाएका छन् ।

केन्द्रीय कमिटी बैठकमा पनि त्यसले निरन्तरता पाएको छ । अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्दै आजको बैठकमा रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले विद्या भण्डारीको सदस्यता खोल्न र ओलीले मार्ग प्रशस्त गरेर अभिभावकत्व लिन आग्रह गरेका छन् । हिजो बोल्नेमध्ये केही नेताहरूले पनि विद्याको सदस्यताको कुरा उठाएका बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।

जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । अध्यक्ष ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले अब नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए । उनीहरूले नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई आग्रह गरेका छन् ।

यद्यपि, केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताएका छन् । ओलीले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

उनले फेसबुकले आफ्नो राजीनामा माग्दैमा नदिने भन्दै महाधिवेशनबाटै छिनोफानो गर्ने प्रस्ट सन्देश दिइसकेका छन् । बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एक जनालाई ३ मिनेट समय दिइएको छ । नेताहरूलाई लिखित बुझाउन आफ्नो कुरा बुझाउन पनि सक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी