काठमाडौं । भूतप्रेतसँग सम्बन्धित हरर जनराका चलचित्रहरूको काठमाडौँमा अन्तर्राष्ट्रिय महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘काठमाडौँ हरर चलचित्र महोत्सव–२०२५’ आयोजना हुन लागेको हो । प्रतिष्ठानले आगामी‘हेल्लोविना डे’को अवसर पारेर यही १४ कार्तिकदेखि १६ कात्तिकसम्म काठमाडौँको कमलादी स्थित रुसी सांस्कृतिक केन्द्रमा यो महोत्सव आयोजना गर्ने भएको छ ।
यस्तो महोत्सव नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ । महोत्सवले लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शन गर्नेछ । विश्वभरका विभिन्न देशहरूबाट प्राप्त १०० भन्दा बढी चलचित्रहरूमध्ये १५ देशका २५ चलचित्रहरू महोत्सवको लागि छनोट भएका पनि आयोजक पक्षले जनाएको छ ।
यो महोत्सवका लागि नेपालबाट विशाल रोका मगरको हरर जनराको चलचित्र ‘द रिचुअल’, अनुराग प्रधान र आस्था श्रेष्ठ निर्देशित चलचित्र ‘खेल’, अनुष्का आनन्द निर्देशित चलचित्र ‘डाउन बाई द रिभर’, शशांक रिजाल निर्देशित ‘किचिएका फूलहरू’, जीवन ढकाल निर्देशित ‘एक एकान तीन’, ओविद उद्दिन निर्देशित चलचित्र ‘फरेभर इन माई हार्ट’ चयन भएका छन् । यी चलचित्र सहित १५ देशका २५ वटा लामा छोटा चलचित्र महोत्सवमा देखाईने महोत्सव निर्देशक रसिक पाठकले जानकारी गराएका छन् ।
काडमाडौँ हरर चलचित्र महोत्सव २०२५ मा छनौट भएका चलचित्रहरूबाट उत्कृष्ट चलचित्रलाई अवार्ड समेत प्रदान गरिने भएको छ । यो महोत्सवको जुरीहरूले उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन वटा विधामा विजेता चयन गर्नेछन् ।
पाठकका अनुसार खुला आह्वान मार्फत विश्वव्यापी रूपमा चलचित्रहरूको माग गरिएको थियो । प्राप्त चलचित्रलाई गुणस्तर, विविधता र पारदर्शिताका आधारमा छनोट समितिद्वारा सावधानीपूर्वक मूल्यांकन गरी फाइनलको लागि चयन गरिएको पनि महोत्सव निर्देशक पाठकले बताएका छन् ।
यस महोत्सवको निर्णायक मण्डलमा नेपालबाट छायांकार, निर्देशक तथा फोटोग्राफर राजभाइ सुवाल, जर्मनबाट चलचित्र समीक्षक होसाम फाह्मी, स्विडेन÷लाट्भियाबाट चलचित्र समीक्षक एलेक्जान्ड्रा एनबर्ग, मोरोक्कोबाट चलचित्र समीक्षक यास्मिन बुछफार रहेका छन् ।
महोत्सवको ’boutमा निर्देशक पाठकले भने,‘यस महोत्सवको उद्देश्य नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु हो । नेपाली चलचित्र क्षेत्रमा हरर शैलीका चलचित्रहरू निकै कम निर्माण हुने भएकाले दर्शकहरू नयाँपनको खोजीमा छन्।’
बाहिरी मुलुकमा यस्ता चलचित्र धेरै निर्माण हुने गरेकाले नेपालमा पनि अव यो महोत्सवले आउँदो वर्षमा हरर चलचित्रको निर्माण संख्यासँगै गुणस्तरमा पनि वृद्धि हुने विश्वास महोत्सव आयोजक पक्षको रहेको छ ।
काठमाडौँ हरर चलचित्र महोत्सवले यस खालको चलचित्र संस्कृतिलाई समृद्ध बनाउने, यस्ता चलचित्रको माध्यमबाट नयाँ पुस्तालाई चलचित्र प्रति आकर्षित गरी चलचित्रको बजार बिस्तारमा एक अर्को नयाँ ढोका खोल्ने एउटा महत्वपूर्ण प्रयास गर्ने पनि महोत्सव निर्देशक रसिक पाठकले बताएका छन् ।
नेपालमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको टिमले यो अर्को चलचित्र महोत्सव गर्न लागेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो महोत्सवको ’boutमा धेरैले चासो राखेको पनि महोत्सव निर्देशक पाठकले बताएका छन् । यसले विशेष गरी युवा दर्शकहरूका लागि एक नयाँ र रोचक अनुभव प्रदान गर्ने विश्वास आफूहरूले लिएको पनि उनले बताएका छन् ।






