काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाटय संगीत प्रतिष्ठानले कला, साहित्य तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी हरिप्रसाद रिमालको १०१औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
यस वर्ष ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान पुरस्कार’बाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई नगद २१ हजार १ रुपैयाँ, ‘हरिप्रसाद रिमाल नाटय संगीत सम्मान पुरस्कार’बाट अग्रज गायिका मिरा राणालाई ३१ हजार १ र ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाटय संगीत सम्मान पुरस्कार’बाट पपगायक तथा ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियन्ता धिरज राईलाई २१ हजार १ रुपैयाँसहित सम्मान गरिएको हो ।
प्रत्येक वर्ष २ असोजमा रिमालको जन्मजयन्तीको अवसर पारेर कला, साहित्य तथा पत्रकारिताजगतका विशिष्ट व्यक्तिŒवलाई सम्मानित र पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यसवर्ष जेनजी आन्दोलनका कारण स्थगित कार्यक्रम बिहीबार सम्पन्न गरेको हो ।
दिवंगत रिमालका साथ उनकी अग्रज सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित प्रतिष्ठानले विविध कार्यक्रमसहित समारोहमा अभिनेता, निर्देशक तथा प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले गुरु हरिप्रसाद रिमाललाई स्मरण गर्दै कला साहित्य र संस्कृतिमा लागेका व्यक्तिलाई सम्मानका साथै अघिल्लो वर्षदेखि नवप्रतिभाको प्रोत्साहनसहित नाटक तथा लघु चलचित्र महोत्सव आयोजना गरिएको जानकारी दिए ।
यसैगरी, ‘लघुतम चलचित्र महोत्सव २०८२’का विभिन्न विजेतालाई पुरस्कार प्रदान गरिएको छ । समारोहमा ‘संगीनी’ले प्रथम पुरस्कार जित्यो भने यही चलचित्रबाट विनोद लोहारले लेखन र सलिना अधिकारीले अभिनेत्रीको पुरस्कार पाए ।
त्यस्तै, ‘कलर अफ टि’ले दोस्रो पुरस्कार जित्दा यसै चलचित्रबाट राजकुमार लामिछानेले निर्देशक र वीरबहादुर थारुले सम्पादन अवार्ड हात पारेका छन् । तृतीय पुरस्कार विजेता ‘अन्तिम रात’बाट दर्शन घिमिरेले अभिनेता अवार्ड र ‘दृश्य’बाट नारायण जिसीले छायांकन पुरस्कार प्राप्त गरे । प्रथम लघु चलचित्रलाई एक लाख, द्वितीयलाई ५० हाजर र तृतीयलाई २५ हजार नगद तथा अन्य विधाका विजेतालाई जनही
१५ हजार १ प्रदान गरिएको छ ।
प्रतियोगिताका निर्णायकमा अभिनेता हरिहर शर्मा, मदनदास श्रेष्ठ र प्रथम अभिनेत्री भुवन चन्द थिए । प्रतियोगिताका लागि आएका लघु चलचित्रलाई सकारात्मक र सूक्ष्म ढंगले मूल्याकन गर्दैै त्यसले समाजमा दिने सन्देश र प्रभाव मध्यनजर गरिएको जनाइएको छ ।







