राजविराज । दशैं, तिहार र छठ पर्वको अवसर पारेर सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा विगत चार दशक भन्दा बढी समयदेखी निरन्तर संचालन हुँदै आएको जनचेतना रनिङ शिल्ड फुटवल प्रतियोगिता यस वर्ष पनि निरन्तरता पाएको छ ।
जिल्लामा यति लामो समयसम्म ग्रामिण क्षेत्रमा निरन्तर संचालन हुँदै आएको प्रतियोगिताको ४४ औं संस्करण यस पटक कात्तिक ८ देखी सुरु हुँदैछ ।
प्रतियोगिताका आयोजक महुली ११ स्पोर्टस क्लब घोगिदाहा भवानीपुरले बुधबार प्रतियोगिता स्थलमै पत्रकार सम्मेलनको आयोजन गर्दै कात्तिक १६ सम्म चल्ने प्रतियोगितामा यस पल्ट कुल ८ टिमले सहभागिता जनाएको जानकारी दिएको छ ।

आयोजक समितिका संयोजक दिलिप कुमार चौधरीका अनुसार प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर, अल्टोकी क्लब रौतहट, झुम्का फुटवल क्लब सुनसरी, गोलबजार स्पोर्टस क्लब सिरहा, बिवाइसी वर्दीवास महोत्तरी, बिराटनगर स्पोटर्स एकेडेमी मोरङ र सप्तरीका प्रोगेसिभ यूवा क्लब ओद्रहा तथा आयोजक महुली ११ गरि कुल ८ टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका सल्लाहकार शम्भुप्रसाद चौधरीका अनुसार प्रतियोगितामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय जनचेतना माविको खेलमैदानमा हुने प्रतियोगिताका बिजेता टिमले ५५ हजार नगद र शिल्ड तथा उपविजेता टिमले ३५ हजार नगद र ट्रफि पाउने छन् । यस्तै विभिन्न विधामा उत्कृष्ठ खेलाडीले समेत पुरस्कार पाउने छन् ।

२०३८ सालमा प्रतियोगिताको थालनी भएको थियो । उतिबेला स्थानीय स्तरमा मात्रै सीमित रहेको प्रतियोगितामा केही वर्षपछी जिल्ला बाहिरका चर्चित टिमहरुलाई पनि समावेश गर्न थालिएको सल्लाहकार चौधरीको भनाई छ ।
प्रतियोगिताका सम्पूर्ण खेलको गोल नेपाल डट कमबाट प्रत्यक्ष प्रशारण हुने आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका अर्का सल्लाहकार महेश प्रसाद चौधरी, हरिप्रसाद चौधरी, कोषाध्यक्ष संगिताकुमारी सिंह, सहसचिव महेश प्रसाद विश्वकर्मा लगायतले पनि प्रतियोगिताको तयारी ’bout जानकारी दिएका थिए । प्रतियोगिता अन्तरगत उद्घाट खेल त्रियुगा नगरपालिका उदपयुर र अल्टोकी क्लब रौतहटबीच हुने आयोजक समितिले जनाएको छ ।






