काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । सोमबार काठमाडौँको ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि मन्त्री गौतमले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु बनाउँदै मन्त्री गौतमले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन् ।
‘बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ, त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताइन् ।
‘हाम्रो जनआन्दोलनको मर्म कुरीति, बेथितिहरू सबै हट्नू भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ,’ उनले भनिन्, ‘मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म पारदर्शी ढंगले देखाउनेछु ।’
सिनामंगल पुगेकी गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताइन् ।
उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको जानकारी दिइन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेकी र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् ।
त्यहाँ उपचाररत अर्का घाइते भने गोली लागेर उपचाररत रहेको मन्त्री गौतमले जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले भनिन्, ‘यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । सुशासनको मुद्दा हामीले बिर्सिनु हुँदैन,’ उनले भनिन् ।
उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् ।
सम्बन्धित समाचार
जेनजीका नाममा सार्वजनिक आतंक
कार्यकारी भूमिकाबाट बिदा लिन ओलीमाथि दबाब
महाधिवेशन तय गर्दै सकियो एमाले बैठक
दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु होइन, यो कुरा प्रष्ट होस्: मिरज ढुंगाना
ओलीको घोषणा: सुशीला कार्कीले बनाएका कुनै पनि संयन्त्र मान्दिनँ
‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ
सरकारमा पहिलोपटक जेनजी अनुहार






