धनगढी । कैलालीको बाह्रवन साझेदारी वनमा करिब १२ वर्षअघि काटिएको काठ अझै बिक्री हुन सकेको छैन । आर्थिक वर्ष २०७१-७२ मा गरिएको कटानीपछिको काठ बिक्री नहुँदा अहिले वनमै कुहिँदै गएको छ ।
वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत बाह्रवनमा काटिएको ‘ए’ र ‘बी’ ग्रेडको काठ तत्कालै बिक्री भए पनि ‘सी’ र ‘डी’ ग्रेडका काठ वर्षौंदेखि वनमै थन्किएका छन् । बाह्रवन साझेदारी वन समितिका अध्यक्ष वीरबहादुर चोखालका अनुसार वनसम्बन्धी किचलोका कारण काठ बिक्री हुने प्रक्रिया अझै अघि बढ्न सकेको छैन । उनले पुनः मूल्यांकन र ग्रेडिङका लागि फाइल वन कार्यालयमा बुझाइसके पनि कारबाही अघि नबढेको बताए । उनका अनुसार यसअघि पटक–पटक बोलपत्र आह्वान गर्दा पनि ठेकेदारहरूले चासो नदेखाएका कारण काठ बिक्री हुन सकेन ।
‘अध्यक्ष भएपछि काठको अवस्था हेर्न गएका थियौं,’ उनले भने, ‘धेरैजसो कुकाठ कुहिएर माटो बनेको छ, कतिपय ठाउँमा त माटो पनि हराइसकेको छ, करिब १३ हजार क्युफिट कुकाठ र १२–१३ हजार क्युफिट सालको काठ बिग्रिएको छ, दाउरा बनाएर पनि प्रयोग गर्न सकिँदैन ।’
वन ऐनअनुसार लिलामपछि बिक्री हुन नसकेको काठ पुनः मूल्यांकन र ग्रेडिङ गर्न ७ देखि १० वर्ष पर्खिनुपर्ने व्यवस्था छ । सुरुमा दर्ता गरिएको सूचीअनुसार वनमा २७ हजार क्युफिट काठ थियो, तर अहिले धेरै काठ नष्ट भइसकेको अध्यक्ष चोखालले जानकारी दिए ।
उनका अनुसार पुनः ग्रेडिङपछि अधिकांश काठ ‘डी’ ग्रेडमै पनि बिक्री नहुने अवस्था आएको छ । हाल ‘सी’ ग्रेड काठको मूल्य प्रतिक्युफिट ९ सय रुपैयाँ र ‘डी’ ग्रेडको ७ सय रुपैयाँ तोकिएको छ ।
वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि बाह्रवन साझेदारी वनमा अनियमितता र भ्रष्टाचारका घटना पनि सार्वजनिक भएका थिए । सोही कारण २०७५ सालमा प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले वनको अनुगमनसमेत गरेको थियो । बाह्रवन साझेदारी वन उपभोक्ता, स्थानीय सरकार र नेपाल सरकारको संयुक्त साझेदारीमा सञ्चालित छ ।











