गुल्मी । शनिबार परेको हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा महापोखरीमा दर्शनार्थीहरुको घुँइचो लागेको छ । उक्त पोखरीमा विशेष मेला तथा पूजा–अर्चनाका लागि भक्तजनहरू पुग्ने गर्दछन् ।
पोखरीमा हरेक बर्ष हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ । पोखरीमा स्नान गरेमा आफुले जिवनमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही मान्यताका कारण पोखरीमा स्नान गर्न एकादशीको अवसरमा जिल्लाका विभिन्न स्थानका साथसाथै अर्घाखाँची, पाल्पा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाबाट समेत श्रद्धालुहरु रेसुङ्गा पुगेका छन् ।
‘भुलवस गरेका पापहरु नष्ट हुने विश्वास छ, त्यसैले विहानै आएर पोखरीमा स्नान ग¥र्यौ ।’ धुर्कोटबाट आएकी मीना पोखरेलले भनिन्, ‘यसपटक गाउँका महिला दिदिबहिनीहरु सवारी नै रिर्जव गरेर रेसुङ्गा आएका हौँ ।’ रेसुङ्गा नगरपालिका–६ की माया पन्थीले पनि रेसुङ्गामा गौदान गरेको बताइन् । गौदान गरेको खण्डमा पनि पापहरु नष्ट हुने एवं मनले चिताएको पुग्ने विश्वास छ । उनले भुलवश भएका पाप नष्ट हुने विश्वासका साथ पोखरीमा स्नान गरेको बताइन् । रेसुङ्गा क्षेत्रमा सुद्ध मनले पाठ–पुजा गरेमा मनोकाक्षांहरु पुरा हुने धार्मिक मान्यता छ । उनले रेसुङ्गामा पहिलेभन्दा यसपटक व्यवस्थित रुपले मेला लागेको बताइन् ।
त्रेतायुगमा ऋष्यशृङ्गले रेसुङ्गा क्षेत्रमा तपस्या गरेका थिए भन्ने वेद–पुराणहरूमा उल्लेख गरेको पाइन्छ । अयोध्याका राजा दशरथलाई सन्तान नहुँदा ऋष्यशृङ्गलाई अयोध्या बोलाई पुत्रेष्टि महायज्ञ सम्पन्न गराइएको थियो । सो यज्ञको प्रभावले दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएका थिए भन्ने धार्मिक कथा पुराणहरूमा उल्लेख छ । यही कारणले रेसुङ्गा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मानिन्छ । रेसुङ्गा क्षेत्रको उच्च भूभागबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनका दृष्टिले पनि उपयुक्त मानिन्छ । यस मन्दिरमा दैनिकी रूपमा पूजा–अर्चना हुने गर्छ भने साउन महिनाभर मेला लाग्ने गर्दछ । साथै औंसी, ठूला एकादशी लगायत पर्वहरूमा ठूलो मेला लाग्ने परम्परा रहिआएको रेसुङ्गा संरक्षण समितिका सदस्य रामलाल पाण्डेले बताए ।
ऋषिशृङ्गेश्वर, यदुकानन्द, रामचन्द्र लगायत अनेक ऋषि–महर्षिहरूले तपस्या गरेको स्थल भएकाले रेसुङ्गाको धार्मिक महत्व धेरै भएको वेद–पुराणमा उल्लेख पाइन्छ । द्वापरयुगदेखि नै सिद्ध स्थल मानिएको रेसुङ्गा विभिन्न युगहरू पार गर्दै अहिले सुन्दर, पुण्यभूमिका रूपमा स्थापित भएको छ । ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्मचारी तदर्थानन्दले विगत धेरै वर्षदेखि केवल काँचो आहार ग्रहण गर्दै तपस्या गरिरहेका छन् ।






