आठ कम्युनिस्टबीच एकता घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका विभिन्न ८ कम्युनिस्ट दलबीच एकता तय भएको छ ।

पार्टीहरूको यस निर्णयसँगै १२ वर्ष सशस्त्र विद्रोह गरेको नेकपा माओवादी केन्द्र (तत्कालीन माओवादी)ले स्थापनाको ३२ वर्षपछि माओवादको मूल सिद्धान्त छोडेको छ । २०५० सालमा स्थापना भएको माओवादीले २०५२ सालबाट सशस्त्र विद्रोह थालेको थियो ।

सिद्धान्तसँगै प्रतिस्पर्धाको राजनीतिमा आएपछि माओवादी केन्द्रले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया हथौडाअंकित निर्वाचन चिह्नसमेत त्यागेको छ । एकीकृत पार्टीले नाम तय गर्न नसके पनि निर्वाचन चिह्न पाँचकुने तारा तय गरेको छ ।

एकीकृत पार्टीहरूको मार्गदर्शक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ हुनेछ भने कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने सहमतिपत्रमा उल्लेख छ ।

३२ वर्षपछि प्रचण्डले छाडे ‘माओवाद’, ३३ वर्षपछि माधवले छाडे ‘जबज’

एकता सहमतिको सबैभन्दा ठूलो दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादी केन्द्रले यसअघि माओवादसमेतलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको थियो ।

एकता प्रक्रियाभित्रको दोस्रो ठूलो दल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ‘माक्र्सवाद–लेनिनवाद’लाई मार्गदर्शक सिद्धान्त र ‘जनताको बहुदलीय जनवाद’लाई कार्यक्रम मान्दै आएको थियो ।

२०४९ सालमा भएको नेकपा एमालेको पाँचौं महाधिवेशनले जबजको तत्कालीन रणनीतिक कार्यक्रम पास गरेपछि माधवकुमार नेपाल र उनले नेतृत्व गर्दै आएको पार्टीले जबजलाई कार्यक्रम मान्दै आएको थियो ।

पार्टी एकताका लागि आठ दलले आइतबार संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै आगामी ६ महिनाभित्रमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने जनाएका छन् । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा. (समाजवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले १८ बुँदे संयुक्तपत्रमा हस्ताक्षर गर्दै आगामी १९ कात्तिकमा पार्टी एकीकरणको घोषणा हुने जनाएका छन् ।

‘एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिहरूको संयुक्त भेलाका रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना १९ कात्तिक २०८२ मा गरिनेछ, एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायतका कार्यहरू गरिनेछ,’ पार्टी एकता सहमतिपत्रमा उल्लेख गरिएको छ ।

एकीकृत पार्टीको नाम भने टुंगो लागेको छैन । नेताहरूका बीचमा नेकपा (समाजवादी) राख्ने सहमति भएको छ । तर, अन्य विभिन्न नाममा छलफल चलिरहेको र सहमतिमा नपुगेका कारण पार्टीको नाम खाली राखिएको हो । एकीकृत पार्टीको निर्वाचन चिह्न पाँचकुने तारा राख्ने सहमति नेताहरूका बीचमा जुटेको छ ।

यस्तै, पार्टीको तत्कालीन कार्यनीति ‘पुँजीवाद–जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ,’ भन्ने उल्लेख गरिएको छ ।

यस्तै, एकीकृत पार्टीको आन्दोलनको स्वरूप शान्तिपूर्ण र परिस्थितिअनुसार सडक, सदन, र सरकारलगायत आवश्यकताअनुसारका सबै मोर्चामा आन्दोलनको मोर्चा हुने सहमति भएको छ ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविक केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । केन्द्रीय समितिभित्रको संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्यसंयोजन समिति हुनेछ । तर, सहमतिपत्रमा यस संरचनामा रहने सदस्यहरूको संख्या’boutमा खुलाइएको छैन ।

केन्द्रीय समितिमा संयोजक र सहसंयोजक रहनेछ । एकता प्रक्रियामा सहभागी एक नेताका अनुसार प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने सहमति भएको छ । यस्तै प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुने भनिएको छ । एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा हुनेछ ।

सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरू सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था हुनेछ । यस्तै, कुनै पनि सदस्य दुई तहको समितिमा रहनसक्ने व्यवस्था गरिएको छ ।

पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुनेछ । पार्टी एकता घोषणापश्चात राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्तावेज निर्माण गर्न कार्यदल गठन गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

यी नेता एकतामा सहभागी नहुने
आठ दलका बीचमा पार्टी एकताको सहमति भएपछि केही नेता एकता प्रक्रियामा सहभागी नहुने जनाएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूहका साथै माओवादी केन्द्रका नेता जनार्दन शर्मासहितका नेताहरू एकताको विरोधमा उत्रिएका छन् ।

यस्तै, नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन् । समाजवादी मोर्चामा रहेका विप्लवसहितका नेता सुरुमा एकता प्रक्रियामा सहभागी हुनेमा सहमत भए पनि पछिल्लो समय उनले एकतामा सहभागी नहुने निष्कर्षमा पुगेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलमा एकताविरोधी नेताहरूले पार्टी पुनर्गठन गर्दै अगाडि बढ्ने र पछि पार्टी एकतामा जाने समूहगत छलफल गरेका छन् । प्रचण्ड र नेपालले नेतृत्व छोडे आफूहरूसमेत पार्टी एकतामा सहभागी हुने केही नेताले बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ