रास्वपा सभापतिदेखि प्रहरी उच्च अधिकारीसम्म अनुसन्धानको दायरामा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ र २४ भदौको घटना जाँचबुझ गर्न गठित आयोगले राजनीतिक दलका नेतादेखि सुरक्षा निकायका उच्च पदस्थ अधिकारीसम्ममा जाँचबुझ केन्द्रित गरेको छ ।

आयोगले नक्खु जेलबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सो जेल तोडेका कैदीका विषयमा बयान र अनुसन्धान थालेको बताएको छ ।

जेनजी आन्दोलन दमन र छलछाम

उनीहरूसँगै तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीलाई उपत्यका नछोड्न आदेश जारी गरेर जाँचबुझलाई प्रभावकारी बनाउन थालिएको आयोगका पदाधिकारी बताउँछन् ।

नक्खु कारागार पुगेर आयोगले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ । आइतबार आयोगको टोली नक्खुजेल पुगेर लामिछानेसँग बयान लिएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । आयोगको टोलीले कारागारका नाइके, भाइनाइके र चौकीदारसँग पनि सोधपुछ गरेको छ ।

जेलबाट कैदी फरार भएको विषयमा जेलरसँग समेत आयोगले सोधपुछ गरेको छ । आयोग कार्यालयमा बोलाएर कारागारका तत्कालीन जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको आयोगका प्रवक्तासमेत रहेका शर्माले बताए । शर्माले भने, ‘जेलर सत्यराज जोशीलाई रविको विषयमा पत्र कसरी बन्यो र रवि कसरी निस्किए भन्ने विषयमा सोध्यौं ।’

नक्खुबाट कैदीबन्दी निस्किएपछि देशभरका अन्य विभिन्न कारागारबाट समेत बन्दीहरू निस्किएका थिए । रविसँगै नक्खुका कैदी निस्किएपछि देशका अरू २८ वटा कारागारबाट कैदीबन्दी फरार भएका थिए । करिब १५ हजार कैदीबन्दी फरार भएकामा अझै करिब ५ हजार बाहिरै छन् ।

रविलाई छुटाउन भन्दै रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसहितका नेताहरू कारागार पुगेका थिए भने उनीहरूले पत्र बनाएर रविलाई निकालिएको बताउँदै आएका छन् । कारागारले नै रविलाई सुरक्षाका लागि भन्दै आफ्नो जिम्मामा बुझाएको दाबी गर्दै रास्वपाका नेताहरू अर्याल, हरि ढकाल, मनीष झालगायतका नेताहरूले गृहसचिव, प्रहरी अधिकारीहरू र जेलरलाई समेत जिम्मेवार देखाएपछि अनुसन्धान एकीकृत हुने भएको हो ।

प्रहरी अधिकारीलाई स्थानहद
गत २३ र २४ भदौको घटनाको अनुसन्धान गर्ने क्रममा न्यायिक छानबिन आयोगले आन्दोलन अवधिका फिल्ड कमान्डरका रूपमा जिम्मेवार भएकाले उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीलाई उपत्यका नछोड्न आदेश दिएको छ ।

आन्दोलनका क्रममा भएका अप्रिय घटनाहरूको कार्यक्षेत्रका जिम्मेवार प्रहरी अधिकारी तथा प्रशासकहरूलाई समेत छानबिनको दायरामा भएकाले उपत्यका नछाड्न निर्देशन दिइएको आयोगले जानकारी दिएको छ ।

आयोगको आदेशअनुसार काठमाडौं उपत्यका छाड्न नपाउनेमा कार्कीसँगै २३ भदौका निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, एसएसपी दीपशमशेर जबरा, उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारी छन् ।

यस्तै, घटनाका क्रममा क्षति व्यहोरेका सार्वजनिक निकाय सुरक्षा युनिटका जिम्मेवार सुरक्षा अधिकारीहरू छन् । जसमा सर्वोच्च अदालत सुरक्षा इकाईका प्रमुख एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, फिल्ड कमान्डर डीएसपी सुन्दर तिवारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी र अपरेसन कमान्डर डीएसपी हेमन्त भण्डारी क्षेत्री छन् ।

भक्तपुरका एसपी माधव बुढाथोकी र अपरेसन कमान्डर डीएसपी ढुण्डीराज न्यौपाने, संसद् भवन कमान्डर डीएसपी एलिजा गिरी र नगरप्रहरी प्रमुख मन्जिल मुकारुङलाई उपत्यका नछोड्नेगरी स्थानहद तोकिएको छ ।

आयोगले वृत्तका उपत्यकाका प्रहरी वृत्तका डीएसपीहरूलाई पनि स्थानहद तोकेको छ । बौद्धका जयश्वर रिमाल, गौशालाका सुकदेव खनाल, दरबारमार्गका राजकुमार श्रेष्ठ, बालाजुका ज्ञानबहादुर विष्टलाई स्थानहद तोकिएको छ । आयोगले जनसेवाका कृष्णकुमार चन्द, जगातेका रमेशकुमार पाल, सातदोबाटोका रामकुमार यादव, स्वयम्भूका उद्धवसिंह भाट, कीर्तिपुरका राजबाबु महर्जन र चापागाउँका यमकुमार श्रेष्ठलाई पनि उपत्यका छोड्न नपाउनेगरी स्थानहद तोकिएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 671 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ