भोजपुरमा लोपोन्मुख रेड पान्डाको संरक्षण गरिँदै

भोजपुर । भोजपुरमा लोपोन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो ।

रेड पान्डा पाइने चारवटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

रेड पान्डाको संरक्षणका लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा ८ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणका लागि यी क्षेत्रमा तीनवटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।

रेड पान्डाको संरक्षणका लागि वन क्षेत्रमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको काम श्रमदानसहित १३ लाख ३० हजार रुपैयाँमा सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए ।

‘हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणका लागि काम गरिरहेका छौं,’ उनले भने, ‘रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति) का ८ हजार बिरुवा रोपन गरेका छौं, रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षण गरिरहेका छौं, रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।’

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमाना, १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए ।

मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

यहाँको नयाँखर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामुदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला परेको उनको भनाइ छ ।

‘हामीले रेड पान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ रेड पान्डा फेला परेको अवस्था छ, संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ, स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्नका लागि आवश्यक काम गरिरहेका छौं ।’

रेड पान्डाको चोरी, सिकारी तथा हानि नोक्सानीबाट बचाउन गाउँपालिकाले आवश्यक भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । रेड पान्डालाई यहाँको पर्यटनसँग जोडेर भावी दिनका योजना अघि बढाइने उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा रेड पान्डाको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । रेड पान्डा पाइने क्षेत्रलाई रेड पान्डा जोनका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी S25 FE सार्वजनिक गर्‍यो