पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाका र स्याङजाको गल्याङ नगरपालिकाको संगमस्थल उत्तरबाहिनीलाई नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न खोजिएको छ । धार्मिक पर्यटनको विकास गर्न उत्तरबाहिनीमा एक महिना धार्मिक महामेला तथा दामोदर धर्मोत्सव चलेको छ ।
कालीगण्डकी कोरिडोर र सिद्धार्थ राजमार्गसँग जोडिएको यस क्षेत्रमा थप धार्मिक संरचना निर्माणको पहल भएको हो । उत्तरबाहिनी क्षेत्रमा गुरुकुल, प्राकृतिक उपचार पद्धतीको अस्पताल, शिवमूर्ति, नुहाउने एक सय आठ धारा, एक सय आठ शिवलिङ्ग सहितका संरचना बनिसकेका छन् । हिन्दु धर्ममा उत्तरबाहिनीमा गरिने स्नान, तर्पण र महायज्ञ जस्ता कार्यलाई निकै पवित्र मानिन्छ ।
यहाँको धार्मिक र सांस्कृतिक पक्षको संरक्षण तथा प्रवद्र्धन गर्न असोज २१ देखि कार्तिक १९ गतेसम्म महामेला तथा दामोदर धर्मोत्सव चलेको हो । उत्तरबाहिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वलाई उजागर गरी धार्मिक पर्यटन विकासमा सहयोग पु¥याएको नारायण दास नागा (बुलेट बाबा) ले बताए ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले सञ्चालन गरेको महामेलामा लुम्बिनी र गण्डकी प्रदेश सरकार सहित यस क्षेत्रका स्थानीय सरकारहरूले साथ दिएका थिए । पाल्पा, गुल्मी, पर्वत, कास्की, बागलुङ, तनहुँ सहित भारतका तीर्थस्थलका धर्मगुरु, साधु–सन्त, वैदिक आचार्य र भक्तजनहरूको सहभागिता रहेको थियो ।
महामेला अवधिमा वैदिक नुष्ठान, शालिग्राम पूजा, गङ्गा आरती, प्रवचन र सांस्कृतिक प्रस्तुतीहरू सञ्चालन भएका थिए । धार्मिक र संस्कृतिको संरक्षण, धार्मिक पर्यटनमार्फत रोजगारी सिर्जना र आम्दानीको अवसर खोजीलाई सहयोग पुगेको छ ।
महामेलामा ३ लाख बढी भक्तजनहरुले अवलोकन गरेको र २ करोड भन्दा बढी चन्दा र सहयोग संकलन भएको छ । यहाँ स्थायी ध्यान–साधना केन्द्र, धर्मशाला र तिर्थयात्री लक्षित पूर्वाधार निर्माणमा सहयोग पुगेको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान सचिव कृष्ण प्रसाद रेग्मीले बताए ।
कालीगण्डकी उत्तरबाहिनीको महत्व बढाउदै लैजाउने शालिग्रामको महत्वलाई विश्वव्यापी बनाउने प्रतिष्ठानको योजना छ । उत्तरबाहिनी र शालिग्रामको महत्व प्रचार गर्न सकेमा नेपालको एक धार्मिक पर्यटन गन्तव्य बन्ने विश्वास लिइएको छ । कालीगण्डकीका धार्मिक तीर्थस्थललाई एक अपासमा जोड्न सकेमा मुक्तिनाथ देखि देवघाटसम्म धार्मिक कोरिडोर बन्न सक्ने देखिन्छ ।






