चलचित्र घरमा ‘जारी २’ सँगै ‘मन विनाको धन’

काठमाडौं । यही २१ कात्तिक शुक्रवार (आज)बाट मुलुकका चलचित्र घरमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । टंक बुढाथोकी निर्देशित चलचित्र ‘मन विनाको धन’ र उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएका हुन् ।

यो चलचित्र बुधवार सेन्सर पास भएको हो । ‘जारी २’ले सबैले हेर्न मिल्ने गरी युनिभर्सल प्रमाणपत्र सेन्सर बोर्डबाट प्राप्त गरेको छ । प्रदर्शन अघि चलचित्र ‘जारी २’ को बिहीबार बेलुका काठमाडौँमा एक समारोहबिच प्रिमियर गरियो । प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीले ‘जारी २’ राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए । अघिल्लो चलचित्र ‘जारी’को सर्वाधिक सफलतापछि त्यसको सिक्वेलको रूपमा ‘जारी २’ निर्माण भएको हो ।

अघिल्लो चलचित्र ‘जारी’मा आफ्नै पत्नीलाई माइतबाट फर्काउन जारी तिर्नु परेको कथा प्रस्तुत गरिएको थियो । तर ‘जारी २’ चलचित्रमा अभिनेता दयाहाङ राई च्याब्रुङ बजाउने काममा घरबाट महिना दिनसम्म बाहिर रहन थालेपछि परिवारमा निम्तिएको समस्या र त्यसको आरोह अवरोहको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्र ‘जारी २’ नेपालका १५० भन्दा बढी चलचित्र घरबाट रिलिजमा आएको छ । यो चलचित्रले अहिले प्रदर्शनमा आएका चलचित्रहरू मध्य सबैभन्दा बढी सो पाएको पनि निर्माण पक्षले जनाएको छ । धरान, बिर्तामोड, दमक जस्ता सहरहरूमा शुक्रवार र शनिवारको सो अग्रिम टिकटबाटै हाउस फूल भएपछि एका बिहानै र मध्य रातको सोहरू समेत थप्नु परेको निर्माण पक्षले राजधानीलाई जानकारी गराएको छ ।

यसैबिच ‘जारी २ : सङ अफ च्याब्रुङ’ निर्माण टिमले यो चलचित्रको साउन्ड लेबलका ’boutमा चलचित्र घर सञ्चालकलाई अग्रिम जानकारी दिएको छ । बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै चलचित्र हल सञ्चालकलाई यस चलचित्रको व्यावसायिक प्रदर्शन सुरु गर्नु पूर्व एक पटक ध्वनि परीक्षण गरेर मात्र चलचित्र चलाउन पनि अनुरोध गरेको छ ।

निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले जारी २को ध्वनि मिश्रण इमर्सिभ साउन्ड फम्र्याटमा सम्पन्न गरेका छौँ, जसका कारण दर्शकहरूले यो चलचित्रलाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउन्ड अनुभवका साथ हेर्न सक्नु हुनेछ । यो चलचित्रको मिक्सिङ कार्य डल्बीको फेडर युनिट ५.८ मा गरिएको र देशभर सञ्चालनमा रहेका प्रत्येक चलचित्र घरमा साउन्ड प्रेसर लेभल (एसपीएल) फरक–फरक हुने भएकाले यो चलचित्रको व्यावसायिक प्रदर्शन सुरु गर्नु अघि एक पटक ध्वनि परीक्षण गर्न सवै चलचित्र घर सञ्चालकलाई अनुरोध गर्दछौं ।’

यति बेला प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘जेरी अन टप’लाई पनि डल्बी एटमसलगायतको पद्धतिमा मिक्सिङ गर्दा धेरै चलचित्र हलमा ध्वनिको समस्या देखिएकाले ‘जारी २’ले यो सूचना जारी गरेको रहेछ । ‘जारी २’लाई दर्शकले राम्रो साउन्ड अनुभवका साथ सुन्न सकुन् भन्ने उद्देश्यले यसो गरिएको पनि निर्माण पक्षले जनाएको छ ।

लिम्बु समुदायको कथामा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको लगायतको अभिनय छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको अहिलेसम्मको बुकिङ हेर्दा यसले राम्रो व्यापार गर्ने विश्वास निर्माण पक्षको छ ।

यसै गरी बाल कलाकार अशोक दर्जीको जीवनीमा आधारित रहेको नेपाली चलचित्र ‘मन विनाको धन’लाई टंक बुढाथोकीले निर्देशनसँगै संगीत र कथा तयार गरेका हुन् । टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक रहेको यो चलचित्र पनि मुलुक भरका चलचित्र घरमा शुक्रवार (आज)बाट हेर्न पाइने निर्माण पक्षले जनाएको छ । ‘जारी २’को तुलनामा ‘मन विनाको धन’ले निकै कम सोजहरू पाएको छ ।

यो चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल