काठमाडौं । चलचित्र विकास बोर्डले संविधान दिवस २०८२ को अवसरमा घोषणा गरेको विशेष सम्मान तथा पुरस्कार त्यति बेला जेनजी पुस्ताको आन्दोलनका कारण रोकिएको थियो । सो पुरस्कार बोर्डले सोमबार प्रदान गरेको छ ।
नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याएको भन्दै बोर्डले १५ जना चलचित्रकर्मीहरूलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बोर्डमा आयोजित समारोहमा सो पुरस्कार प्रदान गरे ।
जनही २० हजार रुपैयाँ सहित उनीहरूलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरिएको हो । समारोहमा अग्रज अभिनेता शिव श्रेष्ठ, चरित्र अभिनेत्री सबिता गुरुङ, चलचित्र निर्देशक तीर्थ थापा, अग्रज निर्माता निर्देशक तथा कलाकार युवराज लामा, कलाकार हेमन्त बुढाथोकीलाई सो पुरस्कार प्रदान गरियो ।
यस्तै गायक यस कुमार, गायिका अन्जु पन्त, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू , चलचित्र निर्देशकद्धय सम्झना रौनियार, रिमेश अधिकारी, अभिनेता नाजिर हुसेन, चलचित्र निर्माता किसान पोखरेल, रंग संयोजक रेनीश फागो पनि सो समारोहमा पुरस्कृत भए । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवम् अभिनेता निर्माता केशव भट्टराईलाई सोही समारोहमा मरणोपरान्त सम्मान गरियो ।
नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै अगाडि बढ्नु पर्ने भनाई मन्त्री खरेलले सो कार्यक्रममा राखे । बोर्ड अध्यक्ष डिसीको कामको पनि उनले खुलेर प्रशंसा गरे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् । उनले सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने जिकिर पनि गरिन् ।
नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ लगायतको सिफारिसमा यी चलचित्रकर्मीहरूलाई पुरस्कृत गरिएको बोर्ड अध्यक्ष डिसीले बताए । अध्यक्ष डिसीले यसले सम्मानितमा सकारात्मक ऊर्जा बढ्ने बताए । उनले सरकारी सहयोगले आगामी वर्षहरूमा चलचित्र क्षेत्रलाई महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।






