पोखराका पर्यटन व्यवसायी दवाडीको निधन

पोखरा । पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । ५७ वर्षीय दवाडीको गएराति आफ्नै निवास पोखरा–५, मालेपाटनमा उनको हृदयघातका कारण निधन भएको हो ।

टान गण्डकीका पूर्व अध्यक्ष दवाडी पछिल्लो समय नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याण्डग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेश अध्यक्ष थिए । यसबाहेक उनी विभिन्न संघसंस्थामा रही सेवा गरेका थिए । नेपालको पर्यटन तथा नेपाली सहासिक खेलकुद विकासको अग्रणी व्यक्तित्वको रुपमा पहिचान बनाएका दवाडी पोखरा पर्यटन परिषद तथा नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्व उपाध्यक्ष समेत हुन् । उनी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य भई ४ वर्षसम्म सेवा गरेका थिए ।

नेपालका लागि स्वीट्जरल्याण्डको अवैतनिक राजदूत रहेर कार्य गरेका उनले आफ्नो गाउँ कास्कीको माछापुच्छे« गाउँपालिका वडा ३, घाचोकमा आमा स्मृति प्रतिष्ठान खोलेका थिए । जहाँ हाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालित छ । महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सिप सिकाउनेदेखि लिएर गरीब तथा विपन्न वर्गका छात्राहरुलाई निःशुल्क शिक्षाको समेत प्रबन्ध मिलाएका थिए ।

नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्व अध्यक्ष कृष्ण भण्डारी भन्छन्, ‘पोखराको साहसिक पर्यटन व्यवसाय तथा सामाजिक संघसंस्था खोल्न, सीप सिकाउनेलगायत समग्र सामाजिक कार्यमा उहाँको ठूलो योगदान छ । पोखराले एकजना अग्रज पर्यटन व्यवसायीलाई गुमाउन पुग्यो ।’

टान गण्डकीका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल पोखराको पर्यटन क्षेत्रको विकास, ट्रेकिङ व्यवसायको समृद्धि तथा संस्थाको उन्नतिमा उनको योगदान सदैव स्मरणीय रहने बताउँछन् । भुजेल भन्छन्, ‘उहाँको समर्पण, नेतृत्व र प्रेरणादायी व्यक्तित्वले टान गण्डकी मात्र होइन, सम्पूर्ण पर्यटन समुदायलाई गहिरो प्रभाव पारेको थियो । उहाँको असामयिक निधनले पर्यटन क्षेत्रले एक अग्रज, अभिभावक तथा मार्गदर्शक गुमाएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)