धनगढी । कैलालीको धनगढीमा विद्यार्थीलाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याइने भएको छ । धनगढी उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालन गर्ने भएको हो ।
केन्द्रीकृत भान्साघर सञ्चालन गर्न उपमहानगरपालिका र फुड फर लाइफ नामक संस्थाबिच आइतबार सम्झौता भएको छ । सम्झौताअनुसार धनगढीको वडा नम्बर १ देखि ८ सम्मका विद्यालयमा केन्द्रीकृत भान्साघरमा तयार भएको खाजा पुगाइने छ । प्रति विद्यार्थी २० रुपैयाँको दिवाखाजा प्याकिङ गरेर तोकिएको समयमा विद्यालयमा पुगाइनेछ ।
धनगढी-७ तिल्केचोकमा एकीकृत भान्साघर निर्माण भइसकेको र अबको दुई महिनाभित्र भान्साघर सञ्चालनमा आउने धनगढी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले उपमहानगरपालिकाले फुड फर लाइभ भन्ने संस्थासँग दुई वर्षका लागि सम्झौता भएको बताए ।
भान्साघरको भौतिक संरचना र आवश्यक उपकरण तथा भाडा वर्तनको व्यवस्थापन उपमहानगरपालिकाले गरेको छ । केन्द्रीकृत भान्साघर सञ्चालन भएपछि विद्यार्थीहरूले गुणस्तरीय र एकै किसिमको खाजा उपभोग गर्न पाउनेछन् । अहिलेसम्म विद्यालयमै दिवाखाजा तयार गरेर दिने गरिएको छ, भान्साघर सञ्चालनमा आएपछि विद्यालयमा खाजा तयार गर्नुपर्ने झन्झट हट्ने छ ।
केन्द्रीकृत भान्साघर सञ्चालनमा आएपछि धनगढीको वडा नम्बर १ देखि ८ सम्मका कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार ६ सय विद्यार्थीले गुणस्तरीय खाजा उपभोग गर्न पाउने उपमहानगरपालिकाले जनाएको छ । केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याउने समझदारी पत्रमा धनगढी नगर प्रमुख गोपाल हमाल र फुड फर लाइफका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।






