उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा काठमान्डु गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेको पहिलो खेलमा ओपनिङ पार्टनर आकाश त्रिपाठी र बेन चाल्र्सवर्थको सानदार सुरुवातसँगै काठमान्डु गोर्खाजले ५ विकेटको जित निकालेको हो ।

टस जितेर विपक्षीलाई ब्याटिङमा निम्त्याएको काठमान्डुले १ सय ३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा भेटेको हो । आकाश र चाल्र्सवर्थले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए भने चाल्र्सवर्थले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाए ।

भीम सार्की ३ रनमा आउट हुँदा काठमान्डुका लागि मिलिन्द कुमारले १९ तथा विकेटकिपर ब्याटर जोन सिम्पसनले १३ रन जोडे । मोहम्मद आदिल आलमले ८ तथा जेरार्ड इरास्मसले १ रन बनाएको अवस्थामा खेल काठमान्डु गोर्खाजले जितेको हो ।

जनकपुरका लागि किशोर महतो, कप्तान अनिल शाह, ललित राजवंशी, यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले समान १ विकेट लिए ।

खाता नखोली आउट भए जनकपुरका कप्तान
जनकपुर बोल्ट्सका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनको यो योगदानसँगै उद्घाटन खेलमा काठमान्डु गोर्खाजलाई जनकपुरले १ सय ३१ रनको लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङलाई निम्त्याइएको जनकपुरका लागि आसिफले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको योगदान गरे । तेस्रो नम्बरमा आएका कप्तान अनिल शाह भने २ बल सामना गर्दै खाता नखोली आउट भए ।

त्यसपछि आएका यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले समान २ रन बनाए । मायन यादव र लहिरु सामाराकोनको मद्दतमा जनकपुर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रनको योगफल बनाउन सफल भयो ।

मायनले २९ बलमा २ चौका र १ छक्कासहित ३४ तथा लहिरुले २१ बलमा २ छक्कासहित २२ रनको योगदान गर्दा रुपेश सिंहले ४ रन बनाए ।

काठमान्डुका लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन खर्चिंदै ३ विकेट लिए भने कप्तान करण केसी, साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए ।

उद्घाटन खेल हेर्न पुगिन् प्रधानमन्त्री
पहिलोपटक फ्लड लाइटमा भएको सिद्धार्थ बैंक एनपीएलको उद्घाटन खेल हेर्न प्रधानमन्त्री सुशीला कार्की कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेकी थिइन् । प्रधानमन्त्रीले उद्घाटन गरेपछि गत वर्षको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिडेका हुन् ।

यसपटक ८ फ्रेन्चाइज टिमले २७ दिनमा ३२ वटा खेल खेल्नेछन् भने फाइनल आगामी २७ मंसिरमा हुनेछ ।

आज दुई खेल
मंगलबार (आज) दुईवटा खेल हुँदै छन् । पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की