हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र र आनन्दमय पर्व हो, विवाह पञ्चमी । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो तिथि भगवान् श्रीराम र माता सीताको विवाहको स्मरणमा विशेष रूपमा समर्पित छ । नेपालको मिथिलाञ्चल क्षेत्र, विशेषतः जनकपुरधाममा यो पर्वलाई भव्य रूपमा विवाह महोत्सवका रूपमा मनाइन्छ, जसलाई विश्वभरिका मिथिला संस्कृतिका अनुयायी ‘रामजानकी विवाहोत्सव’ पनि भन्छन् । यो पर्व धार्मिक उत्सवमात्र नभएर मिथिला संस्कृति, परम्परा, कला, संगीत र सामाजिक एकताको पनि ठूलो प्रदर्शन हो ।
मुलुकको मिथिला क्षेत्र (जनकपुरधाम) र भारतको अयोध्यामा अत्यन्त श्रद्धा, आस्था र उल्लासका साथ मनाइने महान् पर्व पनि हो । यो पर्व प्रत्येक वर्ष मंसिर (मार्गशीर्ष) शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइन्छ । यसको केन्द्रमा मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र आदर्श नारी माता सीता (जानकी)को ऐतिहासिक र अलौकिक विवाहको सम्झना रहेको छ । यो केवल एक धार्मिक तिथि नभएर नेपाल र भारतको प्राचीन सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्ध जोड्ने सशक्त कडी पनि हो । यसर्थ, विवाह पञ्चमीले त्रेता युगको त्यो पावन क्षण जीवन्त तुल्याउँछ । जुन दिन सत्य, प्रेम, त्याग र मर्यादाको प्रतिमूर्ति मानिने दुई महान् आत्माहरू वैवाहिक बन्धनमा बाँधिएका थिए । यस पर्वको उत्सव सप्ताहव्यापी रूपमा जनकपुरधाममा मनाइन्छ । जसलाई ‘रामजानकी विवाह पञ्चमी महोत्सव’ भनिन्छ । यस अवधिमा सम्पूर्ण जनकपुरधामलाई दुलहीझैं सिँगारिन्छ र राम सीताको विवाहको प्रतीक स्वरूप विभिन्न धार्मिक तथा सांस्कृतिक विधि सम्पन्न गरिन्छन् । यो महोत्सव मिथिलाको संस्कृति, परम्परा र लोककलाको अनुपम संगम हो ।
पौराणिक पृष्ठभूमि
विवाह पञ्चमीको पृष्ठभूमि हिन्दूको महान् ग्रन्थ रामायणमा आधारित छ । भगवान् रामलाई विष्णुको र माता सीतालाई लक्ष्मीको अवतार मानिन्छ । जसले धर्तीमा मानव स्वरूपमा अवतरण गरी आदर्श जीवनको उदाहरण प्रस्तुत गरेको पाइन्छ । तसर्थ, विवाह पञ्चमीको धार्मिक तथा पौराणिक महŒव अध्ययन गर्ने हो भने वाल्मीकि रामायण र तुलसीदासको रामचरितमानसअनुसार त्रेतायुगमा भगवान् विष्णुले श्रीरामको रूपमा अवतार लिएका थिए भने माता लक्ष्मीले सीताको रूपमा जनकपुरमा जन्म लिएकी थिइन् । राजा जनकले आफ्नी छोरी सीताको विवाह शिवधनुष तोड्ने वीरसँग गर्ने घोषणा गरेका थिए । अयोध्याका राजकुमार रामले सहजै धनुष भाँचिदिएपछि सीतासँग उनको विवाह सम्पन्न भयो । यो विवाह मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भएको थियो । त्यसैले यो तिथिलाई ‘विवाह पञ्चमी’ भनिएको हो ।
सीताको जन्म र बाल्यकाल
मिथिलाका राजा जनक निःसन्तान थिए । एकपटक खेत जोत्ने क्रममा उनले हलोको सिराले उघारेको ठाउँबाट सुन्दर बालिका भेट्टाए । जसलाई उनले छोरीको रूपमा स्वीकार गरी ‘सीता’ नाम दिए । सीतालाई ‘जनकनन्दिनी’ वा ‘जानकी’ पनि भनिन्छ । फलतः सीता बाल्यकालदेखि नै असाधारण प्रतिभाले सुसजित थिइन् । एकपटक खेलिरहेको बेला उनले सहजै शिव धनुषलाई उठाइन् र सारेकी थिइन् । जुन धनुष परशुरामबाहेक अरू कसैले उठाउन सकेका थिएनन् । यो घटनापछि राजा जनकले प्रतिज्ञा गरे कि ‘जो वीर पुरुषले शिव धनुषमा ताँदो चढाउन सक्छ । उसैसँग छोरी सीताको विवाह गरिदिने’ बाचा विश्वसामु प्रस्तुत गरे ।
धनुष यज्ञ र स्वयंवर
सीता विवाह योग्य भएपछि राजा जनकले विशाल धनुष यज्ञ (स्वयंवर)को आयोजना गरे । देश–देशान्तरका बलवान् राजा तथा राजकुमार स्वयंवरमा सहभागी हुन मिथिला आएका थिए । शिवको त्यो महान् धनुष (पिनाक) उठाउन धेरैले प्रयास गरे । तर कसैले पनि त्यसलाई हल्लाउनसम्म सकेनन् । यसर्थ, राजा जनक निराश भए । त्यहीबेला अयोध्याका राजकुमार राम र लक्ष्मण गुरु महर्षि विश्वामित्रसँगै जनकपुर आइपुगेका थिए । गुरु विश्वामित्रको आज्ञा पाएर भगवान् श्रीराम मञ्चमा उभिए । उनले सहजै त्यो विशाल धनुष उठाए र ताँदो चढाउन लाग्दा त्यो धनुष प्रचण्ड आवाजसाथ भाँचियो । यससँगै राजा जनकको प्रतिज्ञा पूरा भयो । सीताले आफ्नो हातमा लिएको वरमाला लिएर श्रीरामको नजिक गइन् र उनलाई वरमाला पहि¥याइन् । त्यसरी राम र सीताको स्वयंवर सम्पन्न भयो ।
शुभ विवाह
स्वयंवरपछि अयोध्याका राजा दशरथलाई जन्तीसहित मिथिला आउन निमन्त्रणा गरियो । जबकी मार्गशीर्ष शुक्ल पञ्चमीको शुभ तिथिमा सम्पूर्ण वैदिक एवं मिथिलाका परम्परानुसार भगवान् श्रीराम र माता सीताको भव्य विवाह सम्पन्न भयो । यही पावन दिनको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाइन्छ ।
साप्ताहिक अनुष्ठान
जनकपुरधाममा विवाह पञ्चमीलाई एक दिनको नभई सात दिनसम्म मनाइने विस्तृत उत्सव (महोत्सव)का रूपमा लिइन्छ । पहिलो दिन चतुर्थी गरेर नगर दर्शन गरी जानकी मन्दिरको तयारी गर्नुका साथै जन्तीको स्वागतका लागि नगर सजावट र मन्दिरमा मंगलगान सुरुवात हुन्छ । त्यसरी नै दोस्रो दिन पञ्चमीमा ‘फुलबारी लीला’ गरिन्छ । त्यसपछि रामसीताको पहिलो भेट भएको प्रतीकात्मक दृश्य प्रदर्शन गर्ने कार्यक्रम हुन्छ । त्यसरी नै तेस्रो दिन षष्ठीका दिन ‘धनुष यज्ञ’ अर्थात् स्वयंवर व्यवस्था मिलाइन्छ । त्यसरी शिव धनुष भाँचेको र सीताले रामलाई वरमाला लगाएको प्रतीकात्मक मञ्चन गर्ने कार्यक्रम हुन्छ । यसरी चौथो दिनको ‘सप्तमी तिल्कोत्सव’ (तिलाञ्जली) गरिन्छ । सोही क्रममा विवाहअघिको तिलदान गर्ने (टीकाटालो) परम्परा रहेको छ । यो सीता पक्षबाट राम पक्षलाई प्रदान गरिन्छ ।
मिथिलावासी सीतालाई छोरी मान्छन् । चेली सीताले वैवाहिक जीवनमा भोगेका असहनीय दुःख र कष्टबाट संवेदनशील भएर उनीहरूले आफ्ना छोरीले पनि ‘त्यस्तै दुःख भोग्नु नपरोस्’ भन्ने कामनासाथ यो दिन विवाहको लगनगाँठो कस्ने कार्यबाट जोगिने गरेको जनविश्वास छ । यद्यपि, यो मान्यता स्थानीय र भावनात्मकस्तरमा बढी प्रचलित छ ।
त्यस्तै, पाँचौं दिन अष्टमीमा ‘मटकोर कार्यक्रम’ हुन्छ । सो दिन विवाहका लागि माटो खन्ने र त्यसबाट वेदी (मण्डप) बनाउने परम्परा छ । यो मिथिलाको विशिष्ट वैवाहिक परम्परा हो । तसर्थ, छैटौं दिन नवमीमा ‘विवाह पञ्चमी’ कार्य हुन्छ । यसलाई मुख्य विवाहको दिन पनि हो । राम मन्दिर (राम पक्ष)बाट जन्ती जानकी मन्दिर (सीता पक्ष)मा पुग्छन् र परम्परागत वैवाहिक विधि सम्पन्न गरिन्छ । र, सातौं दिनको दशमीमा ‘राम कलेवा÷जन्ती’ बिदाई । जन्तीलाई मिष्ठान्न भोजन गराई आदरसाथ बिदाई गर्ने प्रचलन छ ।
जनकपुरधामको विशेष रौनक
विवाह पञ्चमीको मुख्य आकर्षण जानकी मन्दिर र राम मन्दिरको भूमिका हुन्छ । राम मन्दिरलाई जन्ती निवास (पुरुष पक्ष) र जानकी मन्दिरलाई विवाह मण्डप (स्त्री पक्ष)का रूपमा सजाइन्छ । सो महोत्सवको मुख्य दिन भारतको अयोध्याबाट प्रतीकात्मक जन्ती आउँछन् । जसको स्वागत मिथिलावासीले छोरीको विवाहजस्तै गरी भव्यतासाथ गर्छन् । डोलाहरूमा राम र सीताको प्रतिमा राखेर जनकपुरको रंगभूमि मैदानमा स्वयंवरको मञ्चन गरिन्छ र त्यसपछि जानकी मन्दिरमा विवाहको औपचारिक विधि सम्पन्न हुन्छ ।
धार्मिक महत्व
पावन मिलनः यो पर्व रामसीताको पवित्र मिलनको उत्सव हो । यसदिन रामसीताको पूजा गर्नाले वैवाहिक जीवन सुखी हुन्छ र अविवाहितले रामसीताजस्तै उत्तम जीवनसाथी पाउने विश्वास गरिन्छ ।
अशुभ नाशः पौराणिक मान्यताअनुसार विवाह पञ्चमीको दिन विवाह गर्नका लागि कुनै साइत (मुहूर्त) हेर्नुपर्दैन, किनकि यो दिन स्वयं सिद्ध र अत्यन्त शुभ मानिन्छ ।
आदर्श प्रेरणाः रामसीताले वैवाहिक जीवन, मर्यादा, त्याग र प्रेमको जुन आदर्श स्थापित गरे, त्यसलाई यो पर्वले स्मरण गराउँछ ।
सांस्कृतिक महत्व
मिथिला संस्कृतिः ‘विवाह पञ्चमी महोत्सव’ मिथिला संस्कृति विश्वसामु चिनाउने सबैभन्दा ठूलो माध्यम हो । यस अवधिमा मिथिलाका लोकगीत, लोकनृत्य, चित्रकला (मधुवनी–मिथिला कला) र वैवाहिक परम्परा जीवन्तरूपमा प्रदर्शन गरिन्छ ।
नेपाल र भारत सम्बन्धः यो पर्व नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने सेतु हो । जुन अयोध्याबाट आउने जन्तीलाई मिथिलावासीले गरेको प्रेमपूर्ण स्वागतले दुई देशबीचको प्राचीन सम्बन्ध झल्काउँछ ।
उत्सवको माहोलः जनकपुरधाममा लाग्ने विशाल मेला, भजनकीर्तन र सांस्कृतिक झाँकीले यहाँको सम्पूर्ण माहोल उत्सवमय बनाउँछ ।
सामाजिक महत्व
मर्यादा र नैतिकताः रामसीताले आफ्नो जीवनबाट स्थापित गरेको मर्यादा र नैतिक मूल्य (जस्तैः एकपत्नी व्रत, गुरुको आज्ञापालन, प्रजाप्रतिको प्रेम)लाई समाजमा पुनः स्थापित गर्न यो पर्वले प्रेरणा दिन्छ ।
पारिवारिक मूल्यः विवाह पञ्चमीले परिवार, नाता सम्बन्ध र वैवाहिक जीवनको महत्व उजागर गर्छ । जसले सामाजिक संरचना बलियो बनाउँछ ।
परम्पराको विरोधाभास
एकातिर विवाह पञ्चमीलाई रामसीताको विवाहको उत्सवका रूपमा भव्यतासाथ मनाइन्छ भने अर्कोतिर विशेषगरी मिथिलाञ्चलका कतिपय परिवारमा यसदिन आफ्ना छोरीको वास्तविक विवाह गर्ने चलन कम छ वा गरिँदैन ।
विरोधाभासको कारण
यसको प्रमुख कारण मातासीताको वैवाहिक जीवनमा आएका दुःख र कष्ट हुन् भन्ने मान्यता छ ।
वनवासको दुःखः विवाहलगत्तै रामलाई १४ वर्षको वनवास जानुप¥यो । जसमा सीताले पनि धेरै कष्ट भोगिन् ।
रावणद्वारा हरणः वनवासक्रममा रावणद्वारा सीता हरण भयो र उनले लंकामा लामो समय बन्दी जीवन बिताउनुप¥यो ।
अग्निपरीक्षा र परित्यागः लंकाबाट फर्केपछि पनि उनले अग्निपरीक्षा दिनुप¥यो र पछि गर्भवती अवस्थामै लोकापवादका कारण रामद्वारा परित्याग गरिएर जंगलमा बस्नुप-यो ।
दुःखद अन्त्यः अन्ततः सीताले पृथ्वीमाताको शरण लिँदै धर्तीमै विलिन हुनुप-यो ।
मिथिलावासी सीतालाई छोरी मान्छन् । चेली सीताले वैवाहिक जीवनमा भोगेका असहनीय दुःख र कष्टबाट संवेदनशील भएर उनीहरूले आफ्ना छोरीले पनि ‘त्यस्तै दुःख भोग्नु नपरोस्’ भन्ने कामनासाथ यो दिन विवाहको लगनगाँठो कस्ने कार्यबाट जोगिने गरेको जनविश्वास छ । यद्यपि, यो मान्यता स्थानीय र भावनात्मकस्तरमा बढी प्रचलित छ । जबकि धार्मिक रूपमा यो दिन स्वयं सिद्ध र शुभ नै मानिन्छ । जनकपुरधाममा यस दिन प्रतीकात्मक विवाह हुन्छ । जुन पूर्णतः सुखान्तसाथ सम्पन्न गरिन्छ । किनकि त्यसपछि रामसीताको जीवनमा आएका दुःखका कथा यस शुभ उत्सवमा समावेश गरिँदैन ।
उपसंहार
विवाह पञ्चमी पर्वमात्र नभएर यो त्रेतायुगमा स्थापित आदर्श वैवाहिक जीवनको शाश्वत प्रेरणा पनि हो । वस्तुतः रामसीताको जीवनले हामीलाई यो सिकाउँछ कि वैवाहिक सम्बन्ध केवल सुखमा होइन, दुःख, चुनौती र कष्टमा पनि एकअर्काप्रति समर्पित र मर्यादित हुनुपर्छ । अतः सीताको त्याग, धैर्य र पवित्रता अनि रामको मर्यादा, कर्तव्यपरायणता र अटूट प्रेमले प्रत्येक दम्पतीलाई सद्भावपूर्ण र मर्यादित जीवन जिउन प्रेरित गर्छ । मूलतः जनकपुरधामको ‘विवाह पञ्चमी महोत्सव’ले रामसीताको कथा युगौंयुगसम्म जीवन्त राखेको छ । यो उत्सवले नेपाल र भारतका करोडौं मानिसलाई एकठाउँ जोडेर विश्वलाई प्रेम, विश्वास र मर्यादाको सन्देश दिन्छ ।










