तम्घास–सिमलटारी सडकः नालीमा झाडी, जोखिममा गाडी

गुल्मी । मदन भण्डारी राजमार्गअन्तरगत गुल्मी खण्डमा झाडी सफाई नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्लाको सदरमुकाम तम्घासदेखि सिमटारीसम्म पर्ने पक्की सडकको झाडी सफाई नहुँदा जोखिम बढेको हो ।

अहिले सडकको छेउकुनामा घाँस एवं रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गई जम्मा हुने लगायतका समस्या देखिएका छन् । जसको कारण बर्षायाममा पानी नालीबाट नभई सडकबाटै बग्दा सडकको बीचबीचमा खाल्डा परेका छन् । त्यसैगरी बर्षायाममा गएको पहिरो समेत सफा नगर्दा सडक साघुँरिदैँ गएको छ ।

८७ करोड ९१ लाखको सडक
तम्घासदेखि सिमलटारीसम्म पाँच मिटर चौडाईको २८ किलोमिटर सडक छ बर्षअगाडी २०७६ सालमा पक्की गरिएको थियो । कुल ८७ करोड ९१ लाख रकममा निर्माण गरिएको सडकबाट पुर्कोट दह, प्युठान लगायतका ठाउँसम्म पुग्न सकिन्छ । तर सडकको छेउ–कुनाबाट घाँसपात एवं पातपतिङ्गरले ढाक्दा सडकको सौन्दर्य नै मेटिन थालेको छ ।

‘दोहोरो गाडी चल्ने सडक हो, तर अहिले एकोहोरो मात्रै चल्छ ।’ इस्मा गाउँपालिका–६ का सुजन विष्टले भने, ‘दुर्घटनाको जोखिम बढ्दै गएको छ ।’ साथै उनले बर्षायाममा गएको पहिरो नहटाउँदा पनि सडक साँघुरिएको बताए । सडकको केही भागमा माथिबाट आएको पहिरोले साँघुरो भएपनि सम्बन्धित निकायले ध्यान नदिएको उनले बताए ।

धुर्कोट गाउँपालिका–५ का गणेश पाण्डेले सडकमा गएको पहिरो र छेउछेउमा उम्रिएका घाँसपात हटाई सडक सफा गर्न आग्रह गरे । ‘नालीमा झाडी, जोखिममा गाडी छ ।’ उनले भने ।

सोही राजमार्गमा सवारी व्यवसाय संचालन गरेका चालक राजु खत्रीले सडकमा भएको लाहापरवाहीले गर्दा तोकेको समयमा यात्रुलाई सम्बन्धित गन्तव्यमा पु¥याउन नसकिएको गुनासो गरे । उम्रिएका घाँसपात सफा नगर्नु, बर्षायाममा गएको पहिरो नहटाउनु, सडकको बीचमा परेका खाल्डाखुल्डीको व्यवस्थापन नगर्नु जस्ता कारणले यात्रु र सवारी धनी दुवैलाई असर गरेको बताए । विशेषगरी बिरामीहरुलाई समयमै अस्पताल पु¥याउनुपर्नेमा कहिलेकाँही सडक साँघुरो भएको कारण बाधा भएको उनको भनाई छ । साथै सडकमा खाल्डाखुल्डी भएको कारण सवारीमा पनि समस्या देखिने गरेको उनले बताए ।

तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटरमा रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका पर्दछन् । सडकमा उक्त पालिकाका साथसाथै मदाने गाउँपालिका एवं ढोरपाटन हुदैँ प्युठानसम्मका दैनिक सयौँका संख्यामा सवारी र हजारौको संख्यामा नागरिकले यात्रा गर्छन् ।

सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले उक्त सडकमा दुईजना कामदार खटाएपनि पर्याप्त छैन । उनीहरुले सडकको निश्चित खण्डमा काम गरेपनि सबै सडकमा सक्ने स्थिति छैन । कार्यालय प्रमुख रमेश चौधरीले सडकको निश्चित खण्डहरुमा ठेक्कामार्फत काम हुने बताए । अहिले निश्चित ठाउँमा मात्रै कामदारले झाडी सफाई गरेपनि अन्य ठाउँमा पनि सकेसम्म छिटो झाडी सफाईको काम सक्नेगरी योजना बनाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

कालोपट्टी बाँधेर सिंहदरवार गेटअगाडि मिरज ढुंगाना समूहको प्रदर्शन