काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सबैको सहभागितामा सम्पन्न गर्न सरकारले छलफललाई तीव्रता दिएको छ ।
दलका नेतासँग निर्वाचनलक्षित छलफलमा कार्की
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेकी छन् ।
बिहीबार प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टी (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेताहरूसँग छलफल गर्दै निर्वाचनको वातावरण बनाउन आग्रह गरिन् ।
एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरे । छलफलमा एमालेबाट महासचिव पोखरेलसहित उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौलाको सहभागिता थियो । प्रधानमन्त्री कार्कीसँगै सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल छलफलमा सहभागी थिए ।
प्रधानमन्त्री कार्कीले छिट्टै प्रमुख दलका शीर्ष नेताहरूसँग समेत छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । एमाले नेतासँग छलफल गरेकी प्रधानमन्त्री कार्कीले बिहीबार नै लोसपा अध्यक्ष महन्थ ठाकुरसँग समेत छुट्टै छलफल गरेकी छन् । सिंहदरबारस्थित प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र ठाकुरका बीचमा छलफल भएको छ । प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् ।
अध्यक्ष ठाकुरले आफूहरू निर्वाचनको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको पनि जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘हामी स्पष्ट छौं, निर्वाचनमा भाग लिनुपर्छ, लिन्छौं नै, निर्वाचन नै अबको एक मात्र निकास हो,’ ठाकुरले भने । साथै, उनले तराई–मधेशको विकासमा महत्वपूर्ण भूमिका खेल्नसक्ने महत्वपूर्ण परियोजनालाई गति दिन सरकारसँग आग्रह पनि गरेका छन् ।
यसैगरी, नागरिक समाजका अगुवाहरूले राष्ट्रपति पौडेललाई भेटेर निष्पक्ष निर्वाचनको तयारीसहित आठ विषयमा ध्यानाकर्षण गराएका छन् । गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुनकुमार भट्टराईको नेतृत्वको टोलीले ९ विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो ।
भेटमा देशको वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्र तथा संवैधानिक मूल्यको रक्षा, नागरिक समाजको भूमिका र आगामी निर्वाचनको तयारीलगायतका विषयमा कुराकानी भएको छ ।
प्रतिनिधिमण्डलले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको निष्पक्ष छानबिन, लोकतन्त्र, संविधान र विधिको शासनको संरक्षण, तोकिएको समयमै निष्पक्ष निर्वाचन लगायत’bout राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रपतिबाट सेना परिचालन स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । सरकारले यसअघि निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गरेर राष्ट्रपतिकहाँ प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार राष्ट्रपति पौडेलले मंगलबार स्वीकृति प्रदान गरेका हुन् ।
‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–०८–०८ गतेको निर्णयमा उल्लेख भएबमोजिम हुनेगरी सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
सामाजिक सञ्जाल नियमनमा गृहमन्त्रीले थाले छलफल
मधेश प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग्दै टायर बालेर प्रदर्शन
महाधिवेशन मिति तयवारे देउवा समूह विभाजित, दुवै पक्ष आन्तरिक छलफलमा
‘प्रतिशोध र प्रतिकार’ राजनीतिको खतरा
चुनाववारे ठूला ३ दल
प्रधानमन्त्री र गृहमन्त्रीको आफन्तमोहविरुद्ध ७ दिने अल्टिमेटम
भष्टचार रोक्ने कुरामा समर्थन रहन्छ : मुख्यमन्त्री कडेल
कांग्रेस महाधिवेशन विवादः भोलि बस्ने बैठकबाट वारपार गर्ने कसरत






