काठमाडौं । आगामी नयाँ वर्षको लागि निर्देशक लक्ष्मण रिजालले आफ्नो नयाँ चलचित्र ‘काजी’ रिलिजको घोषणा गरेका छन् । नयाँ वर्ष २०८३ सालको लागि यस अघि नै २७ चैतमा बिराज भट्टको चलचित्र ‘राम नाम सत्य’ रिलिजको घोषणा गरिएको थियो । यस्तै सोही मितिमा दयाहाङ राईको चलचित्र ‘मितज्यू’को पनि रिलिज घोषणा गरिएको थियो ।
अब विपिन कार्की अभिनीत चलचित्र ‘काजी’ पनि २७ चैतमै रिलिज हुने भएको छ । अहिलेसम्मको अवस्था हेर्दा आगामी नयाँ वर्षको लागि यी तीन वटा चलचित्र रिलिज हुने देखिन्छ ।
चलचित्र ‘काजी’को फस्र्टलुक (पोस्टर) सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति आगामी २७ चैतलाई तोकेको हो । यसरी अहिलेको अवस्था हेर्दा आगामी नयाँ वर्षमा विपिन कार्की, दयाहाङ राई र बिराज भट्टको चलचित्र घरमा प्रतिस्पर्धा हुने भएको छ ।
पारिवारिक प्रेम कथामा आधारित चलचित्र ‘काजी’मा विपिनसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, दिक्षिता अर्याललगायतको अभिनय रहेको छ ।
राम प्रसाद रिजालद्धारा निर्मित यस चलचित्रमा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, विपिन मल्लको सम्पादन, कालिप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।







