प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

गुल्मी । गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थीको अभाव देखिएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको हो । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गत रहेर २०७६ सालमा इस्मामा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको थियो ।

शिक्षालयमा ३ वर्षका लागि ६ सेमेस्टरमा डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ विषयको अध्ययन हुने गर्छ । सो कोर्स अध्ययनपश्चात् अमिनतर्फ सर्वेक्षक पदका लागि योग्य जनशक्ति तयार हुनेछ । तर, न्यून विद्यार्थी संख्याका बीच पनि शिक्षालय सञ्चालन भइरहेको छ ।

शिक्षालयमा प्रत्येक सेमेस्टरका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ । तर, हालको विद्यार्थी संख्या हेर्दा आधाभन्दा पनि कम विद्यार्थी छन् ।

२०७६ सालमा स्थापना भए पनि २०७७ को शैक्षिक सत्रबाट शिक्षालयमा भर्ना खुलेको थियो । शिक्षालय प्रमुख प्रदीपराज पाण्डेका अनुसार भर्ना खुलेको वर्ष २०७७ सालमा १८, २०७८ सालमा १३, २०७९ सालमा १५ जना विद्यार्थी भर्ना भए । २०८० सालमा भने दुई जना मात्रै भर्ना हुन आएपछि शिक्षालयले सो सेमेस्टरको पठन–पाठन नै बन्द ग¥यो ।

त्यसपछि २०८१ सालमा १२ एवं २०८२ सालको हालसम्म सात जना विद्यार्थी भर्ना भएका छन् । चालू शैक्षिक सत्रको भर्ना कार्यक्रम भने चलिरहेको छ । शिक्षालयमा हालसम्म ६ वर्षको अवधिमा २ सय ८८ विद्यार्थी भर्ना गर्ने कोटा निर्धारण भए पनि हाल ६५ जना अर्थात् कुल क्षमताको २३ प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् । शिक्षालयमा भर्ना भएपछि २०७७, १०७८, २०७९ र २०८१ को शैक्षिक सत्रमा भर्ना भएकामध्ये पनि १८ जनाले बीचमै अध्ययन छोडेका छन् । इस्मामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्नका लागि सीटीईभीटीले एक जना अधिकृत स्तरको प्रशिक्षक, दुई जना सहायक प्रशिक्षक, प्रशासन, लेखा, स्टोर र कार्यालय सहयोगी गरी सात जना कर्मचारीको व्यवस्था गरेको छ ।

गुल्मीका साथसाथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, जाजरकोट, रुकुम पश्चिमलगायतका ठाउँबाट विद्यार्थी अध्ययनका लागि गुल्मीको शिक्षालय आएका छन् । शिक्षालय प्रमुख प्रदीपराज पौडेलले बिनापूर्वाधार सरकारले भर्ना खोल्दा विद्यार्थी संख्या कम भएको बताए । उनले शिक्षालय स्थापना भएको ६ वर्षसम्म पनि सामान्य पूर्वाधारसमेत नबन्नु दुखद् भएको बताए ।

‘भर्ना हुन आएका कतिपय विद्यार्थी भौगोलिक विकटताका कारण अन्यत्रै जाने गरेका छन्,’ उनले भने, ‘शिक्षालयमा पढ्ने मात्रै होइन, विद्यार्थीलाई बस्नसमेत समस्या छ ।’

अहिले पनि अधिकांश विद्यार्थी कच्ची घरमा महँगो भाडा तिरेर बस्न बाध्य भएको बताए । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले विद्यार्थी संख्या वृद्धि गर्नका लागि जुनसुकै ठाउँबाट आएका विद्यार्थीलाई पनि निःशुल्क अध्ययनको व्यवस्था गरेको बताए ।

पालिकाको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा समावेश गरी प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको उनको भनाइ छ । साथै, अहिले संघीय सरकारबाट पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह