मकवानपुर । मकवानपुरको सदरमुकाम हेटौंडाको बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सर्वोच्च अदालतले मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेपछि बुधबार (आज) पेशी तोकिएको छ । शुक्रबार सर्वोच्चमा सो मुद्दामा छलफल तथा बहसको सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश भएको थियो । डिभिजन सडक कार्यालय हेटौंडाको पूर्व–पश्चिम राजमार्गको रातोमाटेदेखि राप्तीपुल तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारको सूचनाविरुद्ध विन्दवासिनी कंसकारसमेत ६ जनाले रिट दायर गरेका थिए । सो रिटको सम्बन्धमा १९ मंसिरमा अल्पकालीन आदेश जारी गर्दै २६ मंसिरमा छलफलका लागि बोलाएको थियो ।
अदालतले रिट निवेदनमाथि सर्वोच्च अदालतको इजलास नम्बर २ मा सुनुवाइ गर्दै सो मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको थियो ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज २ पुसका लागि पेशी तोक्दै मिसिल झिकाउने आदेश गरेका थिए । सो आदेशअनुसार आज पेशीमा सो मुद्दाका विगतका निर्णय हरेर छलफल हुनेछ । रास्वपा नेतृ एवं पूर्वसांसद कंसाकारसमेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौंडा मकवानपुरसहितका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
२० मंसिरको बिहानै सडक विस्तारको काम सुचारु गरेको सडक डिभिजनले २१ मंसिरमा सर्वोच्चको आदेश तामेल भएकाले तत्कालका लागि सडक विस्तारसम्बन्धी कार्य स्थगित भएको जनाएको थियो । सडक विस्तारका क्रममा करिब ५ सय घर तथा संरचना भत्काइएका छन् । जसमा झन्डै २ दर्जन परिवार पूर्ण रूपमा सुकुम्बासी हुने प्रारम्भिक तथ्यांकले देखाएको छ ।
संरचना हटाउने क्रममा ४ जना घाइते
संरचना हटाउनतर्फ मात्रै केन्द्रित हुँदा हेटौंडा बजार क्षेत्रमा सुरक्षा चुनौती थपिँदो छ । हेटौंडामा घर भत्काउने क्रममा हालसम्म चार जना घाइते भएका छन् । गत २० मंसिरमा राजमार्गको क्षेत्रअन्तर्गत पर्ने हेटौंडा बजारमा डोजर चलाएर छोडेको घर भत्काउने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संरचना हटाउने क्रममा मकवानपुरगढी–१ रानिसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुरको गाईघाट–९ बस्ने २६ वर्षीय दिनेश चौधरी, उदयपुर बेलका–१ पुरन्दा बस्ने ३० वर्षीय अरुण चौधरी र रौतहटको माधवनारायण–७ लौकाहा घर भई हाल हेटौंडा–१० बुद्धचोकमा बस्दै आएका १९ वर्षीय जितेन्द्र माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेपछि हाल उपचाररत छन् ।
त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । उपमहानगरले त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको बुद्धचोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गको रूपमा विकास गर्न प्रस्ताव गरिएको हो ।
हेटौंडामा भएको जनप्रतिनिधि र सरोकारवालाको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गका रूपमा विकास गर्न सरकारसँग माग गर्ने प्रस्ताव अघि सारेको हो ।
बुद्धचोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुँदै गएको र सो मार्गमा सरकारको ठूलो लगानीको औचित्य र उपादेयता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गका रूपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् ।
पर्यटकीय मार्गका रूपमा अगाडि बढाउन प्रस्ताव गर्दै सो सडकखण्डलाई सडक केन्द्रबाट दायाँबायाँ १६–१६ मिटर मात्र सडक सीमा निर्धारण गर्न सरकारसँग अनुरोध गर्नेगरी सहमति भएको बताइएको छ । सडक डिभिजन हेटौंडाले बुद्धचोकबाट सामरी पुलसम्म दायाँबायाँ २५–२५ गजको सडक सीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाइएसँगै सो मार्ग भएर जाने वडा नम्बर १ र २ का वडाध्यक्षसहित जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको सो भेलामा सडक केन्द्र भागबाट दायाँबायाँ १६–१६ मिटर चौडा गर्न प्रभावितहरूले सहमति जनाएको हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
वडाध्यक्ष महर्जनले विकास नागरिकका लागि भएको र विनाशले मात्र समृद्धि हासिल गर्न नसकिने भन्दै हेटौंडाको बुद्धचोकबाट त्रिभुवन राजपथको उत्तरतर्फ सडक चौडाका नाममा ठूलो लगानी गर्नुको औचित्य पुष्टि हुने आधार नभएकाले सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्न उपयुक्त हुने सुझाव दिइएको बताए ।
हेटौंडा उपमहानगरपालिकाको ७६औं कार्यपालिका बैठकले नगरसभामार्फत संघीय सरकारलाई सो प्रस्ताव गर्ने निर्णय गरेको हो । न्यौपानेले पर्यटकीय मार्ग बनाउँदा नागरिकको भौतिक संरचनामा कम क्षति हुने र सरकारको लगानीका आधारमा उच्चतम प्रतिफलसमेत प्राप्त हुने बताए । त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब ३ किमी सडक रहेको छ ।






